स्वास्थ्य

कोरोनाबाट थप ३५ जनाको मृत्यु, सक्रिय संक्रमित ३७ हजार ३२२ पुगे, संक्रमण दर १९.४ प्रतिशत

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार १२३ को परीक्षण हुँदा ४ हजार ९०४ संक्रमित थपिएका छन् । जसमा ५९.९७ पुरुष र ४०.०३ महिला छन् ।

आजसम्म जम्मा ३७ लाख ७ हजार ३९६ पिसिआर र ३ लाख ६९ हजार ६५० जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख २० हजार ६८० पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ७१ हजार २३० पुष्टि भएका छन् ।

अहिलेसम्मका संक्रमितमध्ये ७६१ सघन र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार ११५ छ । निको हुनेको प्रतिशत ९३.४ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३८१ र होम आइसोलेशनमा रहेको संख्या ३३ हजार ९८५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३४७ छ ।

देशमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ ।

अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या २७ लाख २२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।

उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।

पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।

संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका १८ जिल्लाहरु छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १९.४ प्रतिशत र मृत्यु प्रति दश लाख जनसंख्यामा ३४२.१ रहेको छ ।

गाउँ सहर संवाददाता