खेल

आज हुँदैछ टोकियो ओलम्पिकको समापन, शीर्ष स्थानका लागि चीन र अमेरिकाबीच स्वर्णको प्रतिस्पर्धा

काठमाडाैं । टोकियो ओलम्पिकको आज समापन हुँदैछ । आज १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह हुनेछ । ओलम्पिक पदक तालिकामा शीर्ष स्थानको चीनलाई अमेरिकाले पछ्याइरहेको छ ।

चीन र अमेरिकाबीच अहिलेसम्म दुई स्वर्णको अन्तर छ । चीन ३८ स्वर्ण, ३१ रजत र १८ कास्यसहित ८७ पदकका साथ पहिलो र अमेरिका ३६ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित १ सय ८ पदकका साथ दोस्रो स्थानमा छ । इतिहासकै सफलता प्राप्त गरेको जापानले २७ स्वर्ण, १२ रजत र १७ कास्यका साथ तेस्रो स्थानमा छ । गएको साउन ८ गते उद्घाटन भएको ३२ औं ग्रीष्मकालीन ओलम्पिकको आज समापन हुन लागेको हो ।

खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा यसपालि २ सय ८ देशको प्रतिनिधित्व थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए । ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीको सहभागिता थियो ।

पौडीबाट गौरिका सिंह र एलेक्स शाह, शुटिङबाट कल्पना परियार, जुडोबाट सोनिया भट्ट र एथलेटिक्सबाट सरस्वती चौधरीले खेलेका थिए ।  तर पहिलो चरणबाटै बाहिरिए । टोकियो ओलम्पिक कोभिडका कारण एक वर्ष ढिलो भएको हो । ओलम्पिक इतिहासमा प्रतियोगिता सरेको यो नै पहिलो पटक थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत