पलेशाले जितिन् पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक
- १५ भदौ शनिबार, २०८१ | ०९:३३:०० मा प्रकाशित

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।
कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।
नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।
त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।
पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् ।
लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
प्रतिकृया दिनुहोस