स्वास्थ्य

कोरोनाभाइरसका विरामीमध्ये ९०.२ प्रतिशत निको, थप ४१ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । 

नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।

कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ८१३ पुगेको छ । 

यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १६ हजार ९१३ को परीक्षण गरिएकोमा ४ हजार ५२२ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.२ महिला छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । 

मन्त्रालयका अनुसार अहिले देशभरमा ५२ हजार ६४८ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ७६१ को आइसियूमा र २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ४९ हजार ४२५ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ३ हजार २२३ छ । 

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको भएपनि क्रमशः खुकुलो पारिएको छ भने नयाँ नेपाल भेरिअन्टको पनि पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३२ लाख ८८ हजार ५३ र एन्टिजेन परीक्षण १ लाख ५१ हजार ५९२ को गरिएको छ ।

गाउँ सहर संवाददाता