अर्थतन्त्र

बिग मर्जर : हिमालयन र नेपाल इन्भेष्टमेन्ट एक हुने प्रक्रिया शुरू, यस्ताे छ पदीय भागवण्डा

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट तुलसीप्रसाद गौतमले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापनजस्ता विषयमा सहमति जुटेसँगै मर्जरको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । आज दिउँसो ३ बजे छायाँ कम्प्लेक्सको होटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई बैंकबीच कर्मचारी समायोजन, सफ्टवेयर कुन बैंकको चलाउने भन्ने विषयमा भने छलफल भएको छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मूल्यांकन गराउने र जुन बैंकको उपयुक्त हुन्छ, त्यसलाइ नै अगाडि बढाउने अनौपचारिक सहमति भएको छ ।

मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीनजना सञ्चालक रहने सहमति भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा उल्लेख छ । मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा हुनेछन् । इन्भेष्टमेन्ट सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुनेछन् ।

यसअघि, नेपाल इन्भेष्टमेन्ट बैंकले दुवै बैंकका सीईओलाई मर्जरपछि पनि सीईओ नै बनाएर सिनियर र जुनियर भनेर जानुपर्ने प्रस्ताव गरे पनि हिमालयन बैंकले त्यसमा असहमति जनाएपछि सहमति जुट्न सकेको थिएन । वैशाख १५ अगाडि नै एमओयू गर्ने तयारी भए पनि सीईओमा सहमति नजुट्दा त्यति बेला एमओयू हुन सकेन । तर, राष्ट्र बैंकले नै दुवै बैंकलाई बोलाएर दुईजना सीईओ राख्न नमिल्ने भनेपछि इन्भेष्टमेन्टका सीईओ पाण्डेलाई डेपुटी सीईओ बनाउन सहमति जुटेर प्रक्रिया अगाडि बढेको हो । गएको बुधबार नेपाल इन्भेष्टमेन्ट र शुक्रबार हिमालयन बैंकको बोर्डले मर्जरको प्रस्ताव स्वीकृत गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत