विशेष

तपाईंकै कारण उसलाई संक्रमण भित्रिएको त होइन ?

[प्रभावकारी भ्याक्सिनकाे अनुपस्थितिमा सकसपूर्ण समय]

काठमाडाैँ । विश्वका माहिर भनिएका राष्ट्रहरु पनि कोरोना कहरमा सकस भोगिरहेका छन् । अझ सहज भाषामा भन्नुपर्दा विकासोन्मुख राष्ट्रको दाँजोमा पनि कष्टकर जीवन र अवस्था भोगिरहेका छन्, यो सत्यता हो ।

कोरोना सकसले सबैलाई गलाएको छ । १५ करोड बढीमा संक्रमण र मृत्यु हुनेको अवस्था ३२ लाखको हाराहारीमा पुगिसकेको छ भने २.५ करोड बढीको रोजगारी खोसिएको छ । यो संख्या थपिँदै गएको छ र गरिबको संख्यामा पनि बढोत्तरी हुन पुगिरहेको छ ।

विकसित भनिएका देशमा पनि कोरोनालाई नियन्त्रण गर्न औषधि सामग्री, चिकित्सक, उपकरण, बाहनजस्ता कुराहरुको अभाव भइरहेको छ । विकासोन्मुख देशको व्यथा त झनै चर्चा गरिसक्नु छैन । सबै कुराको अभाव छ र पीडाका दिनहरु बिताइरहनु परेको छ ।

देशको कुरा गर्ने हो भने कोरोना कहर र त्यसले पुर्याएको क्षति दिनकै उच्च गतिमा छ । यसबिचमा सरकारले जनताको सेवामा कम ध्यान दिएको, औषधि सामग्रीमा अनियमितता गरेको र अत्यावश्यक चिजको जोहो नगरेको साथै अत्यधिक राजनीतिक विकारको अवस्था सिर्जना गराएको आरोप खेपेको छ । सरकारको शैली हेर्दापनि त्यस्तै देखिन्छ । उ नै भीड र अस्तव्यस्ततामा सामेल भएको छ अनि जनतालाई संक्रमण बढ्नुको दोष दिइरहेको छ ।

जसले जस्तो कर्म गर्ने हो उसले कर्म अनुसारको फल प्राप्त गर्छ नै । सरकार दोषी छ भने निकट भविश्यमा उसले भोग्ने कर्म देखिएला । तर सबैको जनजीविकाको कुरा छ तसर्थ सबै आआफ्नो ठाउँमा सर्तक नभई हामीले कोरोना जित्न नसकिने भने पक्का र सत्य कुरा हो ।

अहिलेसम्म प्रभावकारी भ्याक्सिनको आगमन भइसकेको छैन । भौतिक दुरीको अभावमा जीउन नजानेका विश्वका हामीलाई कोरोनाको कारणले दुरी कायम राखेर जीवन जीउन जान्नुपर्छ भन्ने बनाएको छ । यसबिचका जटिलता आआफ्नै छन् । कति पुरा भएका छन् त कति छैनन् । तर कोरोनाको औषधि वा भ्याक्सिन यो हो र यो खाएपछि वा लाएपछि ढुक्क हुने अवस्था छ भन्ने समय नआउन्जेल हाम्रो यो सकसले निरन्तरता पाउने पक्का छ ।

अरु विकल्प हामीसँग छैन । पूर्वाधारको न्यूनतम आधारभूत उपकरणले चलेको देशमा कोरोना जित्न बेला बेलामा हुने चेन ब्रेक नै प्रमुख अस्त्र भएको छ । यो पनि एउटा नियन्त्रण गर्नसक्ने पक्षमात्र हो, सावधानीका व्यक्तिगत र सामुहिक प्रयासहरु त छँदैछन् ।

सरकारले निषेधाज्ञा लगाउँदा लुक्ने र कोरोना नलाग्ने हुँदैन । खुलेको समयमा पनि सावधानी अपनाउन सकिएन भने कोरोनाले कसैलाई छाड्दैन । चाहे लक हुँदा होस् वा अन हुँदा दुबै समयमा सम्यम्तापूर्वक जीवन जीउनुको अहिले कुनै अन्य रोजाई छैन । छाडापनले संक्रमितको संख्या बढाउँछ भने सुरक्षित जीवनशैलीले त्यसमा थोरै कम गर्छ । समयलाई बुझौँ र बुझाउँ ।

अहिले स्वास्थ्य क्षेत्रमा विषम अवस्था छ । अस्पतालमा बेड छैनन्, भरिएका छन् । आइसियू र भेन्टिलेटरका विरामी बढ्दै जाँदा झनै जटिल अवस्था आइलागेको छ । आवश्यक सामग्रीहरु छैनन् । चिकित्सक तथा नर्सको अभाव छ । जनताको थैली रित्तिएको छ । देशका सहरमा अक्सिजन र भेन्टिलेटर भएको अस्पतालमा लौन भन्ने अवस्था आइसकेको छ । हामी झनै गल्दै गएको अवस्थामा पुगेका छौँ ।

कोरोनाका कारण दैनिक मृत्युदर र संक्रमितको दर बढेको छ । यो कहरमा सरकारको छाँट सहि नहुँदा पीडा माथि पीडा थपिँदै गएको छ । होम आइसोलेशनमा बस्नेको अवस्था दयनिय बन्दै गएको छ । के गर्ने, अस्पतालमा ठाउँ छैन । यो विषम अवस्थालाई मध्येनजर गर्दै सक्नेले सहयोगी हातहरु फैल्याउनुपर्ने र नसक्नेलाई सहजताको वातावरण सिर्जना अहिलेको अपरिहार्यता बनेको छ ।

कोरोना संक्रमितले पनि म कोरोनाको संक्रमित हुँ, मेरो सम्पर्कमा निको नभइन्जेल र भइसकेकपछि पनि भीड हुनेगरी सम्पर्कमा नआउनुहोला भन्न सक्नुपर्छ । रोग केहि समय लुकाउन सकिन्छ होला तर लामो समय सकिँदैन ।  संक्रमण भइसकेपछि तपाईंको सम्पर्कमा आएका वा गएकालाई थप सजगता आवश्यक छ । तपाईंकै कारण उसलाई संक्रमण भित्रिएको त होइन ? भन्ने अनुभूति हुनुपर्यो । नत्र यसले लिने स्वरुप झनै भयावह हुने पक्का छ । 

पहिलेको जस्तै विहे, भोज, चिया पसल, कार्यालय, बैंक तथा वित्तीय संस्था, सवारी साधनमा यात्रा, हिँडडुल, संसद भवन, विद्यालय, कलेजजस्ता क्षेत्रहरुमा हामी सम्पर्कमा आउनसक्ने अवस्था रहेन । यो कहिलेसम्म लम्बिन्छ अनुमानभन्दा बाहिर छ । छातिमा हात राखेर भनौँ र मनन गरौँ यो बीचको समय तपाईं-हामी कत्तिको मापदण्डमा रह्यौँ ? सोचौँ, कतै तपाईं हाम्रै कारण यो विषम अवस्था त आएको होइन ? यदि हो जस्तो लाग्छ र संक्रमणले थप उचाइ नलेओस भन्ने चाहनुहुन्छ भने मापदण्डमै बसौँ । अनावश्यक धपेडी नगरौँ, किनकी जीवन रहे सबैकुरा गर्ने हो ।

स्वास्थ्य मापदण्डमा पालना गरेर जीवन चलाऔँ । सावधानीमा रहेर गतिविधि बढाऔँ । अनिवार्य शर्तहरु रकमको मोलमोलाईमा नबेचौँ । अनावश्यक भीड नगरौँ ।

गाउँ सहर संवाददाता

तपाईँको मत