जीवनशैली

साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।

असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन हो आजको दिन ।

साउने संक्रान्तिको दिन साँझ लुतो फाल्ने प्रचलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ। कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ ।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।

आजका दिन कन्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ ।

कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्धेश्यले यो पर्व मनाउन थालिएको हो । अझै पनि पहाडी तथा धेरैजसाे जिल्लाहरू र उपत्यकाका स्युचाटार, पुरानो नैकाप, गोठाटार, नाङ्लेभारे, मूलपानी, गागलफेदी, गोदावरी, थसीखेल, थानकोट, मच्छेगाउँँ, अनन्त लिङ्गेश्वर, चोभारलगायत क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ अगुल्टो फाल्दै लुतो लैजा भनेर नाङ्लो ठटाएर होहल्ला गर्ने चलन अझै छ ।

आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नले  लुतो लगायतका खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ ।

धसिङ्घरे, भलायो, कुकुर डाइनोलाई बालेर धूपधुँवार गर्दै यसको ठूटो आकाशमा फ्याँक्दा लुतोलगायत चर्मरोगका जीवाणु नास हुन्छन्, आयुर्वेदमा यी वनस्पतिको यस्तै महìव उल्लेख छ, यसै लुतो लैजा भनेर नाङ्लो ठटाइएको होइन ।

पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन्। यो पर्व प्रायजसो सबै नेपालीको चाड हो ।

साउने सङ्क्रान्ति सूर्य दक्षिणायण हुँदै जाने भएकाले यो याममा मानिसमा बाथ, पित्त, कफमध्ये बाथ बढ्दै जान्छ र विभिन्न रोग देखापर्छ । यसरी लुतो फाल्दा यस्तो रोग लाग्ला है भनेर सचेत पनि गराउँछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत