गाउँ सहर

लोकसेवा आयोगले माग्यो ४ सय ६८ कर्मचारी

काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवामा साढे ४ सय बढी कर्मचारीको माग गरेको छ । आयोगले स्वास्थ्य सेवाको पाँचौं तहका पदका आन्तरिक प्रतिस्पर्धा, खुल्ला र समावेशीको लागि ४६८ जना कर्मचारीको माग गरेको हो ।

आयोगले निजामती सेवातर्फ प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौंमा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको उम्मेदवारहरूबाट दरखास्त दिन आह्वान गरेको छ ।

साथै, तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवदेन दिन सक्नेछन् ।

लोकसेवा आयोागले धनकुटा कार्यालयको लागि विभिन्न पदका लागि ७४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, जलेश्वर कार्यालयमा ४२ जना, काठमाडौं कार्यालयमा १ सय ८३ जना, पोखरा कार्यालयमा ५९ जना, बुटवल कार्यालयमा ४९ जना, सुर्खेत कार्यालयका लागि ३५ जना र दिपायल कार्यालयमा २६ जना रहेको छ ।

आयोगले आजको मितिदेखि आगामी फागुन १८ गतेसम्म दोब्बर दस्तुर तिरेर फागुन २५ गतेसम्ममा दरखास्त मिति तोकेको छ । साथै, आयोगले परिक्षाको किसिममा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने जनाएको छ ।

आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । जसमा समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि २ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

यस्तै, परीक्षाको केन्द्र विज्ञापनसँग सम्बन्धित आयोगका कार्यालयहरुमा तोकिएको छ । जसमा लोकसेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा हुने जनाएको छ । साथै, सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गर्ने विज्ञापनमा उल्लेख गरेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत