खेल

महिला लिग फुटबलको दोस्रो चरणको खेल शनिबारदेखि

काठमाडौँ । महिला लिग फुटबलको दोस्रो चरणको खेल शनिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार शनिबार हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका तथा दोस्रो खेलमा विराटनगर र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

लिगमा ६ खेल सकिँदा विभागीय टोली एपीएफ क्लब शीर्ष स्थानमा छ । अपराजित रहेको एपीएफले १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको १३ अंक छ । तेस्रो स्थानमा रहेको विराटनगरको आठ अंक रहेको छ । यसैगरी आठ अंक बनाएको नेपाल पुलिस चौथो, आठ अंक बनाएको वालिङ नगरपालिका पाँचौं, तीन अंक बनाएको चन्द्रपुर छैटौं र अंक विहीन चौदण्डीगढी तालिकाको अन्तिममा समेटिएको छ । सात टोली सहभागी लिग फागुन ७ गतेसम्म चल्ने जनाइएको छ ।

लिगको विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रोले ५ लाख र चौथो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र व्यक्तिगत विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक एन्फाले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत