समाज

बेपत्ता दुई वर्षीय बालकलाई ७२ घण्टापछि उद्धार

लहान । घर आँगनबाटै बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेका बेला गत मंगलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएका थिए ।

बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ः०० बजे भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिएका छन् । बालकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा संगीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।

बालक बेपत्ता भए लगत्तै परिवारले प्रहरीलाई खबर गरेका थिए । परिवारले बालकको अपहरण भएको आशंका गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर रहेको छ ।

‘हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो’, प्रहरी उपरीक्षक भण्डारीले भने, ‘अब घटनाको अनुसन्धान गरी बालकको अपहरण गर्नेको खोजी गर्न केन्द्रित हुन्छौँ ।’ अपहरणकारी जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत