निर्माण

द्रुतमार्ग निर्माणमा १८ अर्ब खर्च

काठमाडौँ । द्रुतमार्ग निर्माणमा हालसम्म करिब १८ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाली सेनाको पूर्ण व्यवस्थापनमा निर्माणाधीन आयोजना निर्माणको कुल एक खर्ब ७५ अर्ब रूपैयाँ लागतमध्ये पुस मसान्तसम्म १७ अर्ब ८३ करोड रूपैयाँ खर्च भइसकेको छ । 

आयोजनाको समष्टिगत कार्य विवरणअनुसार हाल छैटौं चरणमा चलिरहेको छ । द्रुतमार्ग निर्माणको काम हालसम्म १२ प्रतिशत सकिएको छ । हाल सुरुङ मार्गका लागि कम्पनी सर्टलिस्टिङ सकिएको छ । अब बिड डकुमेन्ट प्रदान गरेर नयाँ वर्षदेखि सुरूङ खन्ने काम सुरू हुने सेनाले जानकारी दिएको छ ।

सुरुङ बनाउन सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न प्रिक्वालिफिकेसन आह्वान गरिएकोमा दुईवटा कम्पनी मात्र सुरूङ निर्माणका लागि योग्य देखिएका छन् ।

दुई कम्पनी चाइना स्टेट इन्जिनियरिङ लिमिटेड र पोली चाङ्ग्दा इन्जिनियरिङ कम्पनी रहेका छन् ।  यीमध्ये पोली चाङ्ग्दा दुवै सुरुङ प्याकेज निर्माणका लागि र चाइना स्टेट दोस्रो प्याकेजका लागि मात्र योग्य देखिएको छ । द्रुतमार्गको कुल लम्बाइ ७२.५ किमि मध्ये ३ वटा सुरुङको जम्मा लम्बाइ ६.४१ किमि र पुलहरुको लम्बाइ १०.५९ किमि रहेको छ ।

चालु आवमा पुँजीगततर्फ ८ अर्ब ८४ करोड र चालुतर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो आर्थिक वर्षमा सुरुङमार्ग प्याकेजको ठेक्का व्यवस्थापन भई काम सुरु गर्ने लक्ष्य राखिएको छ । यस्तै ४ किमि ढुङ्गा माटोको कार्य फर्मेसन लेभलसम्म निर्माण गर्ने योजना रहेको छ । सेनाले यो अवधिमा ८०७ रोपनी जग्गा अधिग्रहण —प्राप्ति गर्नेछ भने ११ सय ५० रुख कटान गर्ने र वृक्षरोपण कार्य नियमित राख्ने योजना बनाएको जनाएको छ ।

काठमाडौं—तराई द्रुतमार्गको कुल लम्बाइ ७२.५ किमि हुनेछ । ललितपुरको खोकनाबाट सुरु हुने द्रुतमार्ग काठमाडौँ र मकवानपुर हुँदै बाराको निजगढमा टुंगिनेछ । डीपीआरअनुसार आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । द्रुतमार्ग आयोजना आव ०८०—८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत