गाउँ सहर

बेलायती सेनामा लाहुरे संस्कृति र नेपालीले सिकेका चाखलाग्दा कुरा

  • सुनिल उलक
  • २८ पौष शनिबार, २०८० | १७:१०:०० मा प्रकाशित

विदेशी सेनाको लागी नेपालीहरुले भर्ति हुन बलभद्र कुँवरले शुरुवात गरेका थिए । सुगौली सन्धि पछि रुष्ट भएका बलभद्र कुँवर वि.सं. १८७६ मा पञ्जाव केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए । त्यति बेला उनको साथमा अन्यलाई पनि लगेका थिए । उनलाई त्यहा शुरु गरिएको नयाँ रेजिमेन्टको कमाण्डर बनाइएको थियो । उनलाई निकै आकर्षक तलब दिएर लोभ्याइएको थियो । त्यो बेला उनले दैनिक १० रुपैयाँ पाउँथे । उनको कार्य क्षेत्र लाहोर थियो । जसले गर्दा लाहुरे शब्दको शुरुवात भयो । त्यतिबेला सेनामा भर्ति हुन लाहोर जाने भनिन्थ्यो । जसले गर्दा त्यहा जाने लाहुरे भए । सिख राजा हिन्दु हुँदा नेपालीलाई सहज थियो । तर केही नेपाली मुस्लिम कमाण्डरको अधिनमा भर्ति भएका थिए । मुस्लिम कमाण्डरलाई मुग्लाने भनिन्थ्यो । तसर्थ मुग्लान जाने शब्द बन्न गयो । नेपालबाट भारत पस्नेहरुले या त लाहुर जाने भन्थे वा मुग्लान जाने भन्थे । सिख अफगान युद्धमा १८७९ चैत्र ३ गते बलभद्रको निधन भयो ।

१८७१ कार्तिकमा शुरु भएको नेपाल अंग्रेज युद्धबीच गोर्खाली सैनिकको रुपमा भर्ति भएका गढवाली तथा पहाडीहरुले बिद्रोह गरेर भगुवा सैनिकको रुपमा अंग्रेजसँग मिल्न पुगे । जसले गर्दा नेपाललाई निकै क्षति पुग्यो । यहि सैनिकहरुलाई समाहित गरेर अंग्रेजले फस्ट गोर्खा राइफल गठन गरे । यसरी शुरु भएको गोर्खा रेजिमेन्ट १९७१ सम्म आइपुग्दा १० वटा पुगिसकेको थियो ।

पहिलो विश्वयुद्धको समाप्तिपछि बाँचेर छुट्टीमा आएका (लाहुरे) सैनिकहरुले आफुले लुटेका सामान तथा परिवारको लागी किनेर ल्याएका सामानको साथ केही नौलो ज्ञान तथा अन्य सामग्री पनि लिएर आए । विभिन्न देश पुगेर आएका उनिहरुले नयाँ ज्ञान सिकेर आएका थिए भने खल्तिभरि पैसा पनि लिएर आएका थिए ।

उनीहरुको आगमनसँगै नेपालीले ब्लेडले दाह्री काट्न सिके । उनीहरुले रमाइलोको लागि बोकेर ल्याएको तास बिस्तारै यहाँ जुवाको रुपमा प्रयोग भयो । यिनीहरुले साथमा ल्याएको साबुनले नेपालीले नुहाउन जाने । यस अगाडी एक प्रकारको माटो वा खरानीले नुहाउने गरिन्थ्यो । चुरोटको नसा यहि लाहुरेको साथ प्रवेश गर्यो । चियाको विकास गाँउ गाँउमा भयो । रक्सीको लागी भट्टी पसल खुले ।

पहिलो विश्वयुद्धमा अंग्रेज सेनामा रहेका ६० हजार, तत्कालै अस्थाइ भर्ना गरेका ४० हजार तथा नेपाल सरकारले पठाएका १६५४४ सैनिकले लडेका थिए । यसबापत नेपाल सरकारले त्यति बेला १० लाख पाउण्ड वार्षिक सहयोग पाएका थिए । यहि पैसाले नै नेपालमा चन्द्रशम्शेरले देशमा थुप्रै विकासको योजनाहरु पुरा गरेका थिए ।

अंग्रेज सेनामा रहेका सैनिकहरु एकै चोटी ठूलो संख्यामा देशमा फर्कँदा देशको आर्थिक अवस्था एकैचोटि बदलिएको अनुभूति गरे । तर अर्कोतर्फ करिव २० हजार सैनिकको मृत्यु भयो भने कैयौँ अंगभंग भएर देश फर्किए ।

माथिकाे तस्विर आठौँ गोर्खा राइफलका तीन जवानहरुको । बिचमा र बायाँ दुइ जना हवल्दार देखिन्छ भने दायाँतर्फ एक सिपाही उभिएको देख्न सकिन्छ । The Navy & Army Illustrated पत्रिकाको जुलाइ २४, १८९६ को अंकमा छापिएको यो तस्विरमा देखिएका गोर्खालीहरुमा गहिरो हरियो पोशाकमा बिचमा रहेको गोर्खाली हवल्दार ड्रिल कमाण्डमा छन् भने बायाँतर्फ देखिएको केही होचो कदको हवल्दार मार्चिङ कमाण्डको हवल्दार हुन् । साथै दायाँतर्फ भने एक सिपाही देख्न सकिन्छ । बिचमा रहेको हवल्दारको हरियो किल्मरनाक टोपीमा ४४ को बैज देख्न सकिन्छ । साथै तीनै जवानहरु मार्टिनी हेनरी राइफल बोकेको देख्न सकिन्छ । (उलककाे फेसबुकबाट)

तपाईँको मत