प्रविधि

उपत्यकाको थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौँ । उपत्यकाको थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने भएको छ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको हो । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ ।

उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिएका छन् । ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । उनले भने, “यस वर्षभित्रै त्यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।”

विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका छन् । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि सस्थाले बत्ती निकालेर लगेको उनले बताए । तीनकुने–सूर्यविनायक सडक बिस्तार गरेका जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए ।

विभागले अहिलेसम्म उपत्यकामा १४ स्थानमा ट्रापिक बत्ती जडान गरिसकेको छ । ती स्थानमा र उपत्यकाका पालिकाले राखेका बत्ती रहेका छन् । विभागले थप अरु ६—७ ठाउँमा बत्ती राख्ने योजना रहेको छ । चक्रपथको कोटेश्वरदेखि कलङ्की खण्डमा ट्राफिक बत्ती जडान गर्ने गरी छलफल भइरहेको छ । बत्ती जडान भएका स्थानमा ट्रापिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत