निर्माण

नयाँ वर्षदेखि पोखरामा केबलकार चढ्न पाइने, ८ मिनेटमै सराङकोट पुगिने

पोखरा । नयाँ वर्षदेखि पोखरामा केबलकार चढ्न पाइने भएको छ । विभिन्न हिमालतर्फको पदयात्रा, मुक्तिनाथ दर्शन, जोमसोम जाने ‘ट्रान्जिट प्वाइन्ट’ रहेको पोखरा अब आफैंमा पर्यटकीय गन्तव्य हुन थालेको हो ।

सराङकोटको  डाँडामा पहिलेदेखि नै प्याराग्लाइडिङ सञ्चालनमा थियो । केही समययतादेखि जीप फ्लायर पनि शुरु भएको छ । त्यस्तै, हेम्जाको सेती खोँचमा बञ्जी जम्प पनि सञ्चालन भइसकेको छ । पोखराबाट केही माथि पर्वतको कुश्मामा रहेको बञ्जी र स्वीङ छ । त्यस्तै, हिन्दू धर्मावलम्बीहरुलाई लक्षित गरेर पुम्दी डाँडामा भगवान शिवजीको मानवनिर्मित विशाल मूर्ति निर्माणाधीन रहेको छ ।

फेवाताल, तालबहारी मन्दिर, डेभिड फल्स, महेन्द्र गुफा र लेकसाइड मात्रै कति हेर्नु ? भनेर पर्यटकहरुको रोजाइमा रुपाकोट, सराङकोट र पुङदीकोट पनि पर्न थालेका थिए ।रुपाकोटमा स्वीङ अर्थात् इन्डोनिसिया जस्तै पिङ र हजारौं वर्ष पूरानो जीवनशैली झल्काउने वर्ड भिलेज निर्माण हुने भएको छ । रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारीले स्वीङ र वर्ड भिलेज निर्माण गर्ने बताएका छन् ।

‘अब हामी पोखरा पर्यटकलाई रिसिभ गर्ने रिसिभर मात्रै होइन, केही दिने गिभर बनाउन चाहन्छौं,’ अधिकारीले भने, ‘हामी त्यस्ता प्रडक्टहरु बेच्न चाहन्छौं जहाँ विश्वका विकसित देशहरुमा पाइने सेवा सुविधा पाइन्छ र विश्वमा कहीँ नपाइने हेरिटेज पाइन्छ ।’ अब छिट्टै पोखरामा केबलकार चढ्न पाइने भएको छ । अन्नपूर्ण केबलकार प्रालिले फेवातालको किनारैमा रहेको सेदीदेखि सराङकोटसम्म पुग्ने केबलकार निर्माण गरिरहेको छ ।

कम्पनीका सुपरभाइजर अरुण कोइरालाका अनुसार सम्पूर्ण संरचना निर्माणको काम करिब करिब पूरा भइसकेको छ । अब केवल तार तान्ने काम मात्रै बाँकी छ । तार तान्न र पोलमा फिट गर्ने जापानिज प्राविधिकहरु कोरोनाका कारण आउन नसक्दा पूर्वाधार निर्माण सम्पन्न भएपछि केबलकार सञ्चालनमा ल्याउन नसकिएको कोइराला बताउँछन् ।कम्पनीले अवस्था सामान्या रहेमा जनवरीको २०२१ को १५ तारिखदेखि जापानीज प्राविधिक आइसक्ने र २ महिनाभित्रमा तार तान्ने काम सम्पन्न हुनेछ ।

‘यो बैशाखसम्ममा व्यावसायिकरुपमा केबलकार सञ्चालनमा ल्याउने छौं,’ कोइरालाले भने । हाल जापानबाट मेकानिकल र इलेक्ट्रिकल सामानहरु पनि ल्याउने काम सकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले शुरुमा १८ वटा ‘केबलकारका डिब्बा’सञ्चालनमा ल्याउने छ भने एउटा ‘डिब्बा’मा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्नेछन् । कम्पनीले भविष्यमा एकैपटकमा ३५ वटा ‘डिब्बा’ चलाउने योजना बनाएको छ । कम्पनीका सुपरभाइजर कोइराला भन्छन्—सेदीदेखि सराङकोटसम्मको साढे २ किलोमिटरको दुरी पार गर्न ८ मिनेटको समय लाग्नेछ ।

पोखराको लेकसाइडमा बास बसेर बिहानै साराङकोट पुगेर सुर्योदयको दृश्य हेर्न पाउने गरी केबलकार सञ्चालनमा ल्याइने उनको भनाइ रहेको छ । यसले पोखराबाट साराङकोट गाडीमा ४५ मिनेटमा पुग्ने समयलाई केबलकारले ८ मिनेटमै पूरा गर्नेछ । केबुलकार बिहान ५ बजेदेखि नै शुरु भएर साँझसम्म चल्नेछ,’ ‘पर्यटकलाई सराङ्कोटबाट सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न सहज हुनेछ उनले भने ।

सराङकोटबाट अन्नपूर्ण हिमालको रेञ्ज र माछापुच्छ्रे् हिमालसँगै फेवाताल लगायतका मनोरम दृश्यावलोकन गर्न सकिनेछ । केबलकार बनाउनका लागि राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा लगानी गरेका छन् । डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने कोइरालाले बताए ।  

२ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा तत्काल १८ वटा डिब्बा (गोन्डोला) रहने छन् । उक्त केबलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षमता रहेको छ । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । हाल कम्पनीमा २० प्रतिशत स्थानीयबासी, १५ प्रतिशत जापानिज लगानीकर्ता, बाँकी ६५ प्रतिशत व्यवसायी कालु गुरुङ र उनको समूहको लगानी छ ।

कम्पनीले एक दिनमा कम्तीमा १५ सय जना यात्रुलाई ओसारपसार गर्ने लक्ष्य लिएको जनाइएको छ । केबलकार सेदी र साराङकोटमा १५—१५ गरी ३० रोपनी र यी दुई स्थानबीचमा २० रोपनी जग्गा गरी कुल ५० रोपनी क्षेत्रफल निर्माण भएको संरचनामा सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार नेपालीलाई ६ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ७ सय रुपैयाँ र अन्य विदेशी नागरिकलाई ८ सय रुपैयाँ शुल्क लिइने कम्पनीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत