स्वास्थ्य

कोरोनाको तेस्रो महामारीः चारभन्दा बढी भेला हुन नपाइने

एजेन्सी । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेको छ । महामरीको यो रुप देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिक स्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको हो ।

आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू गर्ने बताएको छ । यससँगै कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकाले कामका समयमा समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । छड्के जाँचका अवस्थामा कुनै कामदार वा कर्मचारीले मास्क नलगाएको भेटिएमा कम्पनीका तर्फबाट र मास्क नलगाउने कर्मचारीबाट जरिवाना हुने बताइएको छ ।

यसअघि नै सार्वजनिक स्थलमा ‘नो मास्क नो राइड’ नियम लागू गरिएको छ । पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दिो तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त नियम लागू गरिने भएको हो । दक्षिण कोरियामा एक हप्तादेखि लगातार दैनिक सङ्क्रमितको सङ्ख्या एक हजार बढी नाघ्न थालेपछि अस्पतालमा शय्या समेत अभाव हुन थालेको छ ।

सरकारले भाइरस नियन्त्रणका लागि सामाजिक दूरीलाई थप कडा पार्दै आइरहेको छ । दक्षिण कोरियामा हालसम्म सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ ।

दक्षिण कोरिया सरकारले आगामी जनवरीको अन्त्यदेखि कोरोनाविरुद्ध खोप लगाउने तयारी गरेको जनाएको छ । सरकारी स्वास्थ्य अधिकारीका अनुसार पहिलो चरणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मीमा खोप दिइने भएको छ । कोरियाले आपत्कालीन प्रयोगका निमित्त प्रारम्भिक आपूर्ति स्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको दुई करोड ५० लाख मात्रा खोप प्राप्त गर्ने भएको छ । हाल कोरिया उक्त खोपको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत