अर्थतन्त्र

भारतीय बजारमा नेपाली अलैँची माग, मूल्य बढ्न सक्ने 

काठमाडौँ । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने भएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च रहेको देखिएको छ ।  पछिल्लो समय भारतीय व्यवसायी समेत अलैँची किन्न नेपाल आउन थालेका छन । विगतका वर्षमा भारतमा नै पुर्‍याउँदा  पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना देखिएको छ । “भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ”, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले भने, “नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो ।” उनका अनुसार ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको हो ।  

केही वर्षअघि अलैँचीको दाम प्रतिमन ९४ (किलोको एक मन) रु एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन । नेपालमा उत्पादन हुने ६० प्रतिशत अलैँचीको बजार भारत हो । भारतले पनि विभिन्न मसला सामग्री निर्माण गरेर तेस्रो मुलुक पठाउँछ । गुणस्तरका हिसाबले पनि भारतको भन्दा नेपाली अलैँची अब्बल छ । अन्तर्राष्ट्रिय जगतमा नेपाली अलैँचीको माग उच्च रहेको छ । नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ ।

नेपाली अलैँची चिनाउन चार वर्षअघि बनेको व्यापार चिह्न अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारले विसं २०७३ असार १९ गते जारी गरेको ट्रेडमार्कलाई केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो । स्वीकृतिपछि पाकिस्तानमा व्यापार चिह्न लगाएर अलैँची लग्न सकिने भए पनि विविध कारणले लगिएको छैन । भारत–पाकिस्तानबीचको द्वन्द्वका कारण नेपालमा व्यापार चिह्नसहितको अलैँची पाकिस्तान लैजान नसकिएको व्यवसायी बताउँछन् । सरकारले लोगो जारी गरेलगत्तै भारत, पाकिस्तान र युएईमा दर्ता प्रक्रिया अघि बढाइएको थियो । एक वर्षअघि नै पाकिस्तानबाट लोगो स्वीकृत भएर आयो भने अन्य देशबाट आएको छैन । 

आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ । आव ०७५/७६ मा  चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा  चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कमा छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत