निर्माण

एक वर्षभित्र  पेट्रोलियम पाइप लाइनबाट पेट्रोल ल्याउन गृहकार्य शुरु

मोतिहारी ।  अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अबको एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको छ । विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइन मार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको हो । अबको एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो ।

निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको हो । यसका लागि भारतीय आयल निगम (आइओसी) सँग कुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले बताएको छ  ।

कार्यालय प्रमुख भरत रेग्मीले “४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको बताए । दुई ट्याङ्कीमध्ये एउटा ट्याङ्की भारत सरकारले बनाउन लागेको छ भने एउटा ट्याङ्की आयल निगमले आफैँ बनाउने भएको छ ।” ट्याङ्की निर्माण भएपछि एकपटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिने छ । ट्याङ्की आगो नलागोस् भनेर तथा आगो लागेपछि सो आगो निभाउन ३०—३० लाख गरी पानी भण्डारण गर्ने दुईवटा ट्याङ्की पनि तयार गरिने भएको छ । 

नेपाल सरकारको करिव २ अर्बको लगानीमा निर्माण भइरहेको उक्त पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिने भएको छ ।  पाइप लाइनमा पेट्रोल ल्याउन मोतिहारी तर्फको काम सम्पन्न भएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरिसकेको छ । 

पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ढुवानी खर्चमा बचत , प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य, भन्सार नाकामा हुने ट्याङ्करको चाप अन्त्य हुनुका साथै  पेट्रोलको अभावको अन्त्य हुने विश्वास लिइएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत