गाउँ सहर

मृत्युअघि पूर्वसांसद कमानसिंहकाे लामाे स्टाटस : ‘हाम्रो प्रेम बर्मुडा ट्रयाङगलमा फस्यो प्रिय’

काठमाडाैं । पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाकाे मृत्यु भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेता लामाको कोरोना संक्रमणका कारण बुधबार राति निधन भएको हो । 

काभ्रे चौंरी देउराली गाउँपालिका-७ स्थायी घर भएका ६९ वर्षका थिए ।  

लामाका दुई श्रीमती, एक छोरा र चार छोरी छन् । उनको कान्छी श्रीमतीसँगकाे सम्बधमा खटपटले उनमा नैराश्यता रहेकाे उनले आफ्नो फेसबुकमा लेखेको स्टाटसबाट बुझ्न सकिन्छ । मृत्यु हुनुभन्दा एक हप्ता अर्थात मंसिर १८ गते श्रीमतीलाई सम्बाेधन गर्दै लामाे स्टाटस लेखेका छन् ।

उनले लेखेकाे स्टाटस् जस्ताकाे तस्तै 

आमा नामनै कति मोहक शब्द "आमा " मैले संसारमा सबभन्दा बढी माया गर्ने "आमा"

प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोस्राे माया गरेको थिएँ तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेको छ । तिमी यसलाई सामान्य लोग्ने स्वास्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैँले हात लिन सक्नुपर्छ भन्छन । छ्या कति कुरुप सिल्बरकाे डेक्ची कुचिएकाे कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु ।

प्रिय, तिमी त उसकाे परिवार रे आफ्नो श्रीमतीलाई आफैँले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू, हातमा हाेइन मैले शिरमा राखेको थिएँ । ढोँगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार। जे होस् तिम्रा जालझेल खेती सप्रेको नै छ । सादा जीवन उच्च विचारका होडिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेकी छौ । त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हाँडी घोप्टे जस्तो लाग्छ ।

ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ । सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ । हाँडीमा खिचडी बसाएर दुई बुढाबूढी गीत गाएर नाँचिबसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ । यहि केशले हाँडी घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो ।

हाम्रा महान पाका माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन । थुईक्क ! जाली फटाहा द्रव्य पिशाचहरु !

प्रिय, मेरी प्रिय- हाम्रो प्रेम बर्मुडा ट्रयाङगलमा फस्यो प्रिय ।

१. मेरो DIGNITY स्वाभिमानको ट्रयाङगल

२. चल अचल भौतिक सम्पती प्रतिको तिम्रो आसक्ति

३. हामी बीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तर बिरोधहरु 

यो हो हामी बीचको अहिलेको बर्मूडाको ट्रयाङगल ।

याद गर प्रिय मैले तिमीलाई सबै कुरो सम्पतीसम्म सुम्पेँ तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिईएको छैन । धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यहि छ ।

बर्मूडा ट्रयाङगल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन ।

तर यसको बनावट भू-मध्य रेखा काल्पनिक लाइनसँगै भएको हो । जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो । हामी बसेको भू-भाग गोण्डावना ल्याण्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो । त्यसबखत ठूला ठूला भौगोलिक उथल पुथल भइरहन्थे । एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी ध्रुवसँग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वी बीचमा उसिनेको अण्डा बीचमा फ़ुटाएको जस्तो फुट्यो । पृथ्वी दुई भागमा बाँडियो । उत्तरी गोलार्ध पाँगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड । यही घटनामा भू-मध्य रेखिय क्षेत्रमा बर्मुडा ट्रयाङ्गल बन्यो ।त्यो आजपर्यन्त अभेद्य छ ।

त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङ्गलमा फसेका छौं ।

प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिँदा मेरा केही सपनाहरु अधुरा नै रहने भए ।

राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पुर्‍याहाले ।

के कुरा गर्ने ?

तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने विश्वका आठैवटा आश्चर्यको रस्वादन गर्ने । माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ । त्यो तिमीले भाँडी दियौ ।

मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेवाट रस्वादन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो । ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने, उलान बटोर र ऐतिहासिक गोवी मरुभूमीमा उँट चढने सपना अधुरै रहने भयो ।

मानव विकासक्रमको २૪ लाख वर्षको ईतिहासमा सिन्थोपस प्रकृतिकाे जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यानले गरेका उपलब्धी र आदीबारे अलि सुक्ष्म अध्यन गरी हाम्रो ठूँसाकाबारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने ।

दोङसिङदान तथा धेरै हामी टिवेटो बर्मीज भाषा समुह र मंगोल मूलका पूर्खाहरुले एक ठूलो नदीको धार परिवर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्य चकित हुने हाम्रा प्रागकालीन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसँगै पढ्ने ईच्छा अधुरै रहने भयो । हाम्रो सास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त ऋतुमा अध्यन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्याे ।

प्रिय, म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने मृत्यु शैयाबाट भन्थे होला तर म भन्दिन । कोभिडसँग पाैँठेजोरी खेल्दैछु । सायद म बाँच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि । तर म आत्तिन्न ।

यो अन्तिम घडीमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम । आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ? यो जीवन मरणको लडाईँको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय, गरि खान मनग्य गरि दिएकोछु । बाँकी जीवन मोज गर । मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर । आठाैँ आश्चर्य हेर्ने घुम्ने भोक मैले नै जगाइ सकेको छु । तिमी सक्षम पनि छौ । लौ बधाई प्रिय ।

२८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै सुखद नै रह्यो । यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विश्वासघात पाएँ । मेरो शेयरको करिब दुई बर्षको साँवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो । उसले पैसा नदिए सिधै मसँग मिल्न आइज हामी दुई भएर मुद्दा लडौँ या रिजनब्ली मिल्न आए मिल्ने ।

प्रिय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने म र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाई रहन्न भने सम्बन्ध छ भनिरहनु को औचित्यै के रह्यो र प्रिय ।

कुनै माध्यमले काम नगरे पछि बडो सरमकासाथ यो मिडिया अपनाएँ । माफ गर प्रिय । यदि म कथं मरे मेरो काज क्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु । यो मेरो बिन्ती ।

गाउँ सहर संवाददाता

तपाईँको मत