गाउँ सहर

अस्ताए सुवास, को हुन् सबैका प्रिय स्वर्गीय सुवास नेम्वाङ ?

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

एमाले नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् ।

शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए सुवास नेम्वाङ

नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

त्रिवि शिक्षण अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ ।’

श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ । अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने नेता प्रदिप ज्ञवालीले जानकारी गराएका छन् ।

नेम्वाङको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले स्व. नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिर सान्तीको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

को हुन् नेम्वाङ ?

सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।

उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भए उनी । ७४ को संसदीय निर्वाचनमा एमाले- माओवादी गठबन्धनबाट उनी विजयी भए ।

गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।

कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसायमा पनि थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।

२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत