गाउँ सहर

धुम्बाराहीकाे ‘सुरक्षा थ्रेट’ छल्दै बालुवाटारमा जन्मदिनकाे केक, ओली-प्रचण्डको सेखासेख

काठमाडाैं । नेकपा सचिवालयका महासचिव एवम् अर्थमन्त्री विष्णु पाैडेललाई यसपाली जन्म दिन केक प्रधानमन्त्री निवास बालुवाटारमै काट्ने अवसर मिल्याे । नेकपाकाे झर्काे र चर्काे सचिवालय बैठकमा केक स्वाद नसकिँदै नेताहरूले एक अर्कालाई तिताे पाेख्न थाले । केक काटुन्जेलकाे माहाैलले कार्यकर्तालाई सुखद समाचारकाे संकेतजस्ताे देखिए पनि अन्तत बैठक तिक्तापूर्ण रूपमा सकियाे । 

केक नसकिँदै सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भयो । बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो ।

बैठकमा ओलीले आफ्नो पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको आफूविरुद्धको प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्‍याए तर जबाफमा प्रचण्डले आफूले पेश गरेको प्रस्तावमाथि छलफल गर्न जरुरी रहेको अडान दोहोर्‍याएका थिए।

आक्रोशित रुपमा प्रस्तुत भएका ओलीले 'लाञ्छनापत्रमाथि छलफल हुनै सक्दैन । त्यसले पार्टीको साख गिराएको छ । बेइज्जत गरेको छ । त्यसमा मेरो उछितो काडिएको छ । त्यसमाथि छलफल हुनै सक्दैन । त्यो कसरी एजेण्डा हुन सक्छ ?’ भनेपछि प्रचण्डले, ‘प्रस्तावमागि कमिटी बैठकहरुमा छलफल हुनुपर्छ। यसको औचित्य छ। यसलाई रद्धीको टोकरीमा फ्याँक्न हुँदैन। त्यसका लागि यो बनाइएको होइन’ भनेकाे सचिवालयका एक सदस्यले बताए । 

बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताए । र, अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने उनले बताए । उनी यो पार्टी फुटाउने भन्ने को हो भन्दै कड्किएका थिए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए । सहमतिका आधारमा अगाडि नबढ्ने हो भने पार्टी एकता कायम रहन नसक्ने बताउँदै ओलीले बैठकमा भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि ।’

नेता नेपालले अहिले कसैले आरोप लगाएकै भरमा र कसैले चाहेकै भरमा पार्टी विभाजन हुन नसक्ने, त्यसको आधार पनि तयार पार्न नसक्ने बताएका थिए । उनले कदाचित् पार्टी विभाजन भइहाले पूर्वएमाले र माओवादी केन्द्र भएर पनि नफुट्ने बताएको ती सचिवालय सदस्यको भनाइ छ ।

वरिष्ठ नेता झलनाथ खनालले सहमति, सहमति भनेर रटान लगाउनुको सट्टा, विधि, पद्धतिअनुसार पार्टी र निर्णय प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए ।सहमतिका आधारमा मात्र निर्णय हुनुपर्छ भन्ने ओलीको अडानको खनालले कडा आलोचना गरे । सकेसम्म सहमति, नभए बहुमतबाट निर्णय हुने भन्दै उनले दुनियाँमा कहीँ नभएको अभ्यास हुनुपर्छ भन्दा नीतिगत संकट आउने बताए । 

मंगलबारको बैठक पाटी कार्यालय धुम्बाराहीमा बस्ने जानकारी गराइएको थियो । तर, ‘सुरक्षा थ्रेट’ कारण देखाउँदै बैठक बालुवाटार नै सारियो । यसबारे पनि बैठकमा कुरा उठेको थियो । पाटी कार्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’ भनेर प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा घेराभित्र महासचिव एवम् अर्थमन्त्री विष्णु पाैडेलकाे जन्म दिनकाे केकले तित्कता झन् बढेकाे देखियाे । सर्वसाधारण भने सरकारी खर्चमा बालुवाटारकै सरकारी जग्गा कीर्ते अभियोग लागेका नेकपा महासचिवको वर्थ डे  केक र नेकपाकै सरकार हुँदा नेकपाकै पार्टी कार्यालयमा बैठक बस्न नसक्ने ‘सुरक्षा थ्रेट’ बीचकाे ओली-प्रचण्डको सेखासेखकाे समाचार सुनेर आश्चर्यचकित भएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत