गाउँ सहर

विश्व शहरीकरण दिवस : शहर शहर जस्तै हाेस्

काठमाडाैं । समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । 

यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । 

मानवीय सभ्यता, इतिहास, संस्कृतिलाई जिउँदो राख्दै बनाइएको व्यवस्थित र विकसित थलो नै सहर हो। त्यो ठाउँमा राज्यका ठुल्ठूला निकाय हुन्छन्। राज्यले प्रवाह गर्ने मूल सेवा सुविधा हुन्छन्। मानिस तिनै सेवा सुविधा खोज्दै सहरमा तानिन्छन्। सहरले हरेकको न्याय र अवसर सुनिश्चित गरेको हुन्छ। शिक्षा, स्वास्थ्य, शिक्षा, यातायात, बिजुली, खानेपानीलगायत सुविधा सहरमा हुन्छन्। मुख्य सहरको बनावट शैलीले देशको पूरै सभ्यता बोकेको हुन्छ। त्यो सहरलाई हेरेरै पनि विगतको इतिहास र मौलिक पक्ष यस्तो रहेछ भन्ने थाहा हुन्छ।

गाउँ अनि खेतहरु क्रमश बिकासको नाममा शहरका सिमेन्ट अनि पिचका संरचनाहरुमा परिणत भइरहेका छन्, शहर बिकासको घोतक त होला तर शहरीकरण ब्यबस्थित र मर्यादित हुन जरुरी छ । यसै परिवेशमा विश्व शहरीकरण दिवसको खाँका तयार पारिएको हो ।

उत्कृष्ट शहर, उत्कृष्ट जीवन" भन्ने सोचलाई मध्यनजर गरेर हरेक बर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा "प्रमुख शहरी रूपान्तरण" भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो । यस वर्ष सातौं शहरीकरण दिवस हो, यस वर्ष सन् २०२० मा कोरोना संक्रमण जोखिमको त्रासका कारणले शहर अनि गाउँहरुको नयाँ खाकाको पैरवी गरिने बताइएको छ । यस वर्षको विश्वकाे नारा भने- "आफ्नो शहर र समुदायलाई जोगाएर राखौं र महत्व दिऔं" भन्ने रहेको छ ।

सहरका मानिसले आफूलाई गाउँले भन्न रुचाउँछन्, गाउँकाले आफूलाई सहरीय बन्न वा भन्न रुचाउँछन् । किनकि यी दुवै ठाउँका मानिसलाई एक अर्काको न्यास्रो लागिरहेको हुन्छ । अर्को हिसाबमा गाउँका मानिसको लागि केही सुविधा सहरले पुर्‍याइदिएको हुन्छ भने केही सुविधा गाउँले पुर्‍याइदिएको हुन्छ । गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, शहर भन्ने बित्तिकै सबैको अनुमानमा "सुबिधा सम्पन्न संसार" रहेको हुन्छ । शहर एक ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र संचारको लागि व्यापक सुविधायुक्त जगत हो । शहरीकरण भन्नाले एक स्मार्ट र हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक जगतको स्थापना गर्नु पनि हो ।

अन्तर्राष्ट्रिय समुदायको हितलाई बढावा दिनको लागि विश्वव्यापी शहरीकरणको अवसरहरू भेट्न, शहरीकरणको चुनौतीहरुलाई सम्बोधन गर्न, देश र शहरहरु बीचको सहयोग बढाउन र शहरी विकासको लागि योगदान पुर्‍याउन विश्व शहरीकरण दिवस मनाइन्छ ।

यो दिवश मनाउनु मात्र सफलता होइन । दिवस मनाउनुको सार्थकता तर्फ पनि ध्यान दिन जरुरी छ । शहरीकरण दिवस मनाउँदै गर्दा हामीले भूल्नै नहुने कुरा के हो भने शहरका सडकमा रात बिताउन बाध्य समूदाय र शहरी क्षेत्रका जलाधारमा मिसिएको फोहोरले भएको प्रदुषण नियन्त्रणका लागि हामीले कहिले सोच्ने भन्ने हो ? त्यसैले आजको दिनमा हामी सबैले व्यवस्थीत शहरीकरणका बारेमा सोच्नै पर्छ ।

मानिसको चाप पनि यस्तै शहरहरूमा बढिरहेको छ । धमाधम महलहरू ठडिइरहेका छन् । मानिसहरू कामकाजमा ब्यस्त छन् । कसैलाई कसैसँग बोल्ने फुर्सद छैन । कसैले कसैको कुरा सुन्ने फुर्सद छैन । शहरबासीको यो नियमितता हो । गाउँका जग्गाजमीन मासेर वा छाडेर मानिस शहर हुलिएको छ । कारोबार गरेको छ । नाफा आर्जन गरेको छ । रोजीरोटी कमाउनको लागि पनि मानिसलाई शहरमै धाउनु पर्छ । शहरमा बाहिरबाट आएका कति मानिस अटाएका छन् भन्ने कुरा दशैँको बेलामा हुने शहरको सुनसानले पनि देखाएकै हुन्छ ।

सहर समस्याग्रस्त छ । यद्यपि, ऊबेलाको सहर र अहिलेको सहरबीचमा त्यति धेरै फरक छैन । किनकि उतिबेला पनि सहरको दीगो विकास हुने गरी काम गरिएको थिएन । जनसंख्याको चाप बढ्दै जाँदा अहिले सहर बस्ने ठाउँ हो जस्तो छैन । अहिले सहरमा धेरै समस्या छ । हामीले विदेशका सहर हेर्दा नेपालका सहर अति नै बिजोग लाग्छन् । किनभने यहाँ राज्य तवरबाट हुने काम निराशाजनक छ । व्यवस्थालाई पालना भएको छैन । विकास निर्माणका काममा भागबन्डा भएको छ । अग्ला र अव्यवस्थित भवन निर्माण, फोहर, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो जस्ता समस्या छन् ।

सहर सफा र हराभरा होस् । कतै गए पनि मन नदुखोस् । खुट्टामा ठेस नलागोस् । 

सरकार जिम्मेवार हुनुप-यो। विकास निर्माणका योजनामात्रै थप्ने होइन, ती योजनामा अडिनुप-यो । विकासका काम समयमै गर्नुप-यो। अनिमात्रै हामीले सहरलाई केही व्यवस्थित बनाउन सक्छौं भन्ने लाग्छ । अर्को कुरा, हाम्रा सहरमा के छन् भने त्यो सम्भावना पनि खोजिएको छैन। त्यसैले, सहरका खास सम्भावनाको खोजी गर्नुप-यो । सहरको विषयमा दिर्घकालीन बहस हुनुप-यो । त्यसै बमोजिम योजना ल्याउनुप-यो । सहर बन्नको लागि के–के चाहिँदो रहेछ, अध्ययन गर्नुप-यो । अनि मात्रै सहरको विकास हुन सक्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत