समाज

हरेक मानिस ‘बूढा-बूढी’ हुने दिन आउँछ त्यसैले ‘ज्येष्ठ नागरिक’ बाेझ नमानाैँ

काठमाडाैं । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच  पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।

यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा : हाम्रो उमेर र बुढ्यौलीका कारण ज्येष्ठ नागरिकलाई गरिने सम्बोधनमा परिवर्तन ल्याउँछ ?’ भन्ने रहेको छ । 

मानिसको सरदर आयु बढेसँगै संसारभरि नै ज्येष्ठ नागरिकको संख्या पनि बढेको छ । यो संख्या बढेसँगै सामाजिक तथा आर्थिक चुनौती पनि बढेका छन् । ज्येष्ठ नागरिकसम्बन्धी उपयुक्त नीतिले मात्रै यस्ता चुनौतीसँग सामना गर्ने सामथ्र्यको विकास गर्न सक्छ भन्दै यस्ता नीति निर्माणमा संयुक्त राष्ट्रसंघले जोड दिँदै आएको छ ।पोषण, सरसफाइ, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक सुरक्षाले मानिसको आयु बढाउन सघाउँदै आएको छ ।

विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेका छन् । प्रत्येक १० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएकोछ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।

नेपालको संविधान २०७२ को धारा ४१ मा 'ज्येष्ठ नागरिकको हक' शीर्षकमा 'ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ' उल्लेख गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकका हकहितको सुनिश्चितताको लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले पछिल्लो समय 'ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३' तथा 'ज्येष्ठ नागरिकसम्बन्धी नियमावली २०६४' पनि जारी गरिएको छ । यसका अलावा हरेक वर्ष सरकारको नीति तथा कार्यक्रमहरूमा पनि ज्येष्ठ नागरिकको विषय समेटेको पाइन्छ ।

वृद्धवस्थामा सामाजिक सुरक्षा अभावले कष्टपूर्ण र असुरक्षित जीवनयापन गर्नु नपरोस् भन्ने उद्देश्यले नेपालमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०५२/५३ देखि ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरणको सुरुआत गरिएको थियो । तत्कालीन नेकपा एमाले सरकारले ल्याएको यो कार्यक्रमले मुलुकका ज्येष्ठ नागरिकलाई केही हदसम्म आर्थिक राहत प्रदान गरेको अनुभव गरिँदै आएको छ ।

वृद्धभत्ताको रूपमा सरकारको राष्ट्रिय बजेटमार्फत वितरण गरिने न्यूनतम रकमले विशेषगरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकलाई थोरै भए पनि आर्थिक भरोसा प्रदान गरेको अनुभव आत्मसात गर्दै त्यसपछिका सरकारले पनि उक्त वृद्धभत्ता वितरण कार्यलाई यद्यपि निरन्तरता दिइरहेका छन् । सुरुमा मासिक पाँच सय रुपैयाँबाट सुरु गरिएको वृद्धभत्तामा क्रमशः वृद्धि गर्दै अहिले तीन हजार रुपैयाँ पुर्‌याइएको छ ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर-परिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्च सम्मान हुने गर्दछ । 

पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावले नेपाली समाज र घरपरिवार पनि अछुतो रहेन् । वयस्क सदस्यहरु त्यसैले जेष्ठ नागरिकहरु आफैं पनि संगठित भई केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरु निर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ ।

आर्थिक दृष्टिकोणले निष्क्रिय ज्येष्ठ नागरिकलाई घरपरिवार र समाजले पनि बोझकै रूपमा हेर्ने परम्परा हट्न सकेको छैन । ज्येष्ठ नागरिकले घरकुरुवा अथवा बालबालिकालाई हेरचाह गर्ने कार्यमा गरेको योगदानलाई गणना नै गर्ने गरिएको छैन । सामाजिक सुरक्षाको लागि हरेक वर्ष आर्थिक भार बढ्दै गएकाले सम्भवतः राज्यले पनि ज्येष्ठ नागरिकहरूलाई बोझकै रूपमा हेरेको हुनुपर्छ । तर ज्येष्ठ नागरिकलाई बोझ नभई वरदानको रूपमा स्विकार्नुपर्ने यथार्थ मनन गर्न सकियो भने घरपरिवार, समाज र राज्यकै लागि पनि गहन उपलब्धि हुन सक्नेछ ।

खासगरी विश्वभर नै बूढाबूढीको संख्या पछिल्ला समयमा ह्वात्तै बढ्न थालेबाट बुढ्यौली जीवन कति स्वस्थ, कति सुरक्षित र कति सम्मानित भन्ने कुरामा हरेक नागरिकको चासो र चिन्ता बढ्नुपर्ने अवस्था आएको छ । बूढो हुन पाउँदैमा कोही पनि भाग्यमानी हुँदैन । किनकि बुढ्यौली जीवनमा प्रवेश पाएको हरेक व्यक्तिले आफ्नो परिवारबाट माया; छिमेक, टोल समाज र राज्यबाट सम्मान र अलिकति पनि विमार लाग्नासाथ स्वास्थ्य उपचार र भरपर्दो हेरचाह पाउने वातावरणको प्रत्याभूति चाहन्छ ।

आखिर हरेक नागरिकलाई ज्येष्ठ नागरिक अर्थात् ‘बूढो’ वा ‘बूढी’ बन्ने अवसर एक दिन आइहाल्छ । त्यही भएर नै हरेक व्यक्ति अहिलेदेखि नै चनाखो बन्नुपर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत