दृष्‍टिकोण

‘अत्यावश्यक सबै क्षेत्र २४ घण्टा खोलौँ, एकै समयमा हुने भिडले कोरोना झनै बढ्छ’

काठमाडौँ । कोरोनाभाइरसका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएका छन् । योबीचमा पनि अत्यावश्यकीय क्षेत्रहरु खुला नै छन् । तर तरकारी—फलफूल—किराना पसल विहानमात्र खुल्ला गरिएका छन जसले भिडसँगै कोरोना संक्रमणको जोखिम पनि बढाइरहेको छ ।

निषेधाज्ञा जति बढ्दैछ संक्रमित र मृतकको संख्यापनि उत्तिकै बढ्दै गएको छ । अहिले देशमा सक्रिय संक्रमितको संख्या १८ हजार १२२ छ भने मृतकको संख्या २४१ छ । देशमा पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् ।

बाक्लो बस्तीमा समुदायमा संक्रमण फैलिइरहेको छ भने सरकार पनि अरु विकल्प नभएका कारण निषेधाज्ञा बढाउनमा लागिपरेको छ । संक्रमित भएछन है ? भन्ने अवस्थाबाट हामी अहिले कहाँ संक्रमित हुँदैन र ? भन्ने अवस्थामा पुगिसकेका छौँ ।

यो विषम अवस्थामा अब कोरोना संक्रमण हुन्छ भन्दापनि योबाट बचेर कसरी जीवन चलाउनेमा केन्द्रित हुनु वर्तमान मुद्धा हो । आवश्यक सुरक्षालाई कडासँग अवलम्बन गर्दै सामाजिक दुरीलाई कायम गर्दै जीवन चलाउनुको विकल्प छैन । रोग आफूलाई लाग्छ भन्ने जान्दाजान्दै कोहिपनि आगोमा हात हाल्दैन । दुरी कायम गरेर जीवन कसरी चलाउन सकिन्छ भन्नेमा रणनीतिक योजना अहिलेको आवश्यकता हो ।

मानसिक रुपमा सबै तयार हुनैपर्छ । घर तथा छिमेकमा छलफल गरौँ । नआत्तिनु नै रोग जित्ने साँचो भएको कुरा अब खुलेर बहस गरौँ । छिछि, थूथू गर्ने अवस्था अब रहेन, बुझेर पनि बुझ नपचाउँ । फ्रन्टलाइनका हरेक व्यक्तिलाई सम्मान गरौँ जसले ज्यान बाचाइरहेका छन् । भएसम्मको संरचनागत उपाय अबलम्बन गरौँ जसले गर्दा भाइरस पछाडि पर्छ ।

निषेधाज्ञामा पनि अझैपनि बैज्ञानिकता देखिएको छैन । व्यवहारिक पनि बनाऔँ । असहजता सबैमा छ तर मिलेर सामना गर्नुको वर्तमान समयमा विकल्प पनि छैन । हावादारी कुराको पछाडि लाग्नु र भिड जम्मा गरेर संक्रमण सार्नु भनेको आफैँले आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । गम्भीर बन सरकार, जनता र सरोकारवाला, बाँच्नु र धेरै गर्नु छ । विषम अवस्थालाई हृदयंगम गरेर जीवन चलाउनु अहिलेको अनिवार्यता हो । सरकारले काम गरेको छ तर अपूरा छन्, गफ कम गरेर काम गर्दा नसकिने भन्ने छैन । तर कोरोनाको नाम जपेर अन्य विरामीको अवस्थामा खेलवाड गर्ने जुन गलत प्रवृत्ति बढेको छ त्यो कुराम गम्भीर बनौँ ।

अस्पताल जुन क्षेत्र अहिलेको नम्बर वानमा छ त्यहाँपनि अझै शिक्षा, उपकरणको अभाव छ, त्यसमा सुधार गरौँ । कोरोनापनि रोग हो र अन्यपनि रोग हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना ४५ नम्बरमा रहेको छ भने अन्य ४४ नम्बरका रोग र रोगीलाई बाइपास गर्ने काम नगरौँ । हाम्रा व्यवहार र उपचार पद्धतिमा सुधार गर्ने अझैपनि समय छ— सुध्रिऔँ । केहिको घटनाले समग्र क्षेत्रमा परेको असर बुझौँ र बुझाऔँ ।

कोरोनामा राजनीति नगरौँ, पहिले ज्यानमा भएको जोखिम कम गरौँ अरुकुरा पछि गरेपनि हुन्छ । हामी यत्ति भन्न सक्छौँ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत