गाउँ सहर

अनौठो मन्दिर : जहाँ ब्रत बसेर 'सम्बन्ध जाेड्ने कि विच्छेद' गर्ने भन्ने निर्णय हुन्छ (फाेटाेफिचर)

काठमाडाैं । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुँडा किलाले ठोकेर अड्काइएका हुन्छन् । जस्तो भात पकाउने कसौडी, थाल, लोटा, डाडु, पन्यु, पूजाको थाल आदि ।पहिलोपटक मन्दिर पुग्ने जोकोही पनि मन्दिरको 'साजसज्जा'देखेर छक्क पर्छन् । मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुडा किलाले ठोकेर अड्काइएका छन् ।

काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिर आफैंमा एउटा अनौठो सम्पदा हो । भक्तजनले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुँडा मन्दिरमा ल्याएर ठोक्ने रहेछन्, जो अहिले आएर मन्दिरको मौलिक परिचय जस्तै बनिसकेको छ। यसले गर्दा यो मन्दिर अनौठो मन्दिर बनेको छ । जहाँ चोभार गेटबाट १५ मिनेट उकालाे खुड्किलो चढेर पुग्न सकिन्छ । 

आदिनाथ लोकेश्वर मन्दिर शुरूमा पन्ध्रौं शताब्दीमा निर्माण भएको इतिहास छ । बज्रयान बुद्धधर्मको जीवन्त संस्कृतिका रूपमा रहेको यस विहारमा मेला शुरू भएसँगै मुख्य देवता आदन्ददादी लोकेश्वरको दर्शन गर्न आउनेहरूको विशेष पूजा गरिन्छ । कोजाग्रात पूर्णिमासँगै हिन्दूको महान् पर्व दशैं औपचारिकरूपमा सकिएपछि यस मन्दिरमा मेला शुरू हुने गर्दछ। यो मेलालाई चोभार मेला भन्ने गरिन्छ । 

यो अनौठो मन्दिरमा कात्तिक महिनामा अर्को एउटा अनौठो व्रत बस्ने परम्परा छ । हिन्दू संस्कृतिमा विवाह गर्न व्रत बस्ने चलन छ । तर, यो मन्दिरमा सम्बन्धविच्छेदका लागि व्रत बस्ने गरिन्छ । श्रीमान् श्रीमतीहरू खराब सम्बन्धका कारण अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ । यो व्रतलाई स्थानीय नेपाल भाषामा 'माय् अप्सं' र नेपालीमा 'निर्जला व्रत' पनि भनिन्छ ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन सो व्रत शुरू हुन्छ । पाँच दिन लगातार बसेर पूर्णिमाका दिन समापन हुन्छ । अत्यन्त कठिन मानिने यस व्रतमा जो बसे पनि हुन्छ । तर, व्रतको अन्तिम दिन भने सबै व्र्रतालुलाई घरकै सदस्य आएर सँगै लानुपर्ने रहेछ ।

तीनै व्रतालुका बीच केही त्यस्ता महिला पनि व्रतमा लीन हुन्छन्, जो श्रीमान् वा घरका अरू सदस्यहरूसँग सम्बन्ध बिग्रेका कारण माइती घरमा बसिरहेका हुन्छन् । व्रतको अन्तिम दिन व्रतालु महिलालाई श्रीमान् आफैं आई लिएर गए भने सम्बन्ध पुनः जोडिन्छ। श्रीमान् उनलाई लिन आएनन् भने त्यस दिनपछि उनीहरूको दाम्पत्य जीवन आधिकारिकरूपमै समाप्त भएको ठहरिन्छ ।

त्यो एक किसिमले सांस्कृतिक–सामाजिक रूपले मान्यता प्राप्त भएको ‘सम्बन्ध विच्छेद’ नै हो । यो ‘सम्बन्ध विच्छेद’ पछि महिला र पुरुष दुवैलाई अर्को विवाह गर्ने स्वतन्त्रता प्राप्त हुन्छ । यसपछि गरिएको दोस्रो विवाहलाई धार्मिकरूपमा अर्को पक्षको कसूर लाग्दैन ।

अर्को कुरा, व्रत बसेकी कुनै महिलाई श्रीमान्ले लिन आएनन् भने त्यति बेला उनलाई अरू कुनै पुरुषले पनि लिएर जानसक्छ । श्रीमान्ले लिन नआएकी महिलालाई अरू पुरुषले लिएर जान चाहन्छन् र महिला पनि त्यसका लागि राजी छन् भने त्यसलाई पनि यथास्थानमै वैधानिकता प्राप्त हुन्छ ।

मानिसहरू भगवान् साक्षी राखेर विवाह गर्छन् । भगवान्को अगाडि गरिएको विवाहलाई समाजले पनि वैधानिकता प्रदान गर्छ । तर, गरेका सबै विवाह सफल हुन्छन् भन्ने छैन । केही विवाह बीचमै टुट्न सक्छ । त्यस्तो टुटेको विवाहलाई सम्बन्धविच्छेदको सामाजिक वैधानिकता प्रदान गर्ने मन्दिर भने यही चोभारको लोकेश्वर मात्रै हो ।

 

 तस्बिर : गाउँ सहर, शिवराज खड्का

गाउँ सहर डेस्क

तपाईँको मत