गाउँ सहर

खीरले कोरोना भाइरस निकाे पार्न सहयाेग गर्छ !

काठमाडाैं । आज साउन १५ अर्थात् खीर खाने दिन । साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ ।

असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।

नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ ।

खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।चामल, दूध, नरिवल, छोकडा, चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलबाट कार्बोहाइड्रेड र अन्य सामग्रीले भिटामिन र मिनरल्स प्रदान गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा हो खीर ।

साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन् । डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ । 

खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ । गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ ।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ । अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा. अञ्जु कार्कीको भनाइ छ ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ । साउने झरीमा खीर भोजनको आफ्नै महत्व रहेको वैद्यराज बताउँछन् ।

हिन्दु धर्मावलम्बीका लागि साउन शिवपूजन महिना भएकाले कतिपयले एक महिनासम्म माछा–मासु नखाने चलन छ । खीर पकाउनका लागि दूध राम्रोसँग उमाल्नुपर्छ । दूध बाक्लिएपछि चिनी, मसला हाल्ने अनि सग्लो चामलको दानालाई भैँसीको घ्यूमा मोलेर दूधमा मिसाउनुपर्छ । मलमलको कपडाले छोपेर आगोको रापमा होइन, आँचमा पकाउँदा राम्रो हुन्छ । ग्यासको रापभन्दा दाउराको आगोको आँचमा पकाउँदा खीर स्वादिष्ट हुन्छ ।

नेपालमा मात्रै नभएर भारतमा पनि साउन महिनामा खिर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ । शुद्ध, स्वास्थ्यबद्र्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुआतसमेत खिर खान ख्वाएर गरिने प्रचलन छ । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । आयुर्वेद अस्पताल नरदेवीका चिकित्सक डा. सरिता बजगाईंका अनुसार अहिले शरीरमा पित्त सञ्चित हुने ऋतु भएकाले खिर खान उपयुक्त मानिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत