अर्थतन्त्र

नेपालको व्यापार घाटा घट्याे, विदेशी मुद्रा सञ्चिति बढ्याे

काठमाडाैं । कोभिड–१९ का कारण वैदेशिक व्यापारका सबै सूचक ऋणात्मक देखिए पनि यससँग सम्बद्ध व्यापार घाटा, चालु खाता घाटा, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिका सूचकमा भने सुधार देखिएको छ । लकडाउनलगत्तै आयातमा कमीको असर विदेशी मुद्रा बाहिरिने क्रम कम भएपछि उक्त शीर्षकमा अनुकूलता देखिएको हो । जेठ मसान्तसम्म १३ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति छ । ०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो ।

विभागका अनुसार आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा १६.७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपियाँ पुगेको हो ।

विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क घटेको देखिन्छ । समग्र आयात नै १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ । त्यसको अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

आयातमा देखिएको करिब दुई खर्ब २२ अर्ब रुपियाँको अन्तरले नेपालको विदेशी मुद्रा सञ्चिति बढाएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले नेपालसँग करिब १३ खर्ब रुपियाँको विदेशी मुद्राको सञ्चिति छ ।

गत आवमा आश्चर्यजनक रूपमा उकालो लागेको नेपालको निर्यात व्यापार अन्तिम चौमासिकमा गरिएको बन्दाबन्दीका कारण सामान्य घट्न पुगेको छ । विभागका अनुसार नेपालले गत आवमा ९६ अर्ब १५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.९८ प्रतिशतले कम हो ।

उक्त वर्ष नेपालले ९७ अर्ब १० करोड रुपियाँको वस्तु निर्यात गरेको थियो । नेपालबाट निर्यात हुने वस्तुको ठूलो हिस्सा पाम तेलले ओगटेको छ । नेपालले मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधित गरेर भारतमा बिक्री गर्दै आएको छ । नेपालको निर्यात बजारमा देखिएको पछिल्लो यो व्यापार प्रवृत्ति एकैपटक निर्यातको महत्वपूर्ण अंशसमेत बन्न पुगेको छ ।

नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा १४.६९ प्रतिशतको ह्रास आएको विभागको तथ्याङ्कले देखाउँछ । गत आवमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार अघिल्लो आवको तुलनामा १४.६९ प्रतिशतले घटेर १२ खर्ब ९२ अर्ब ९५ करोड रुपियाँ पुगेको छ । जबकि त्यसअघिको आवमा अन्तर्राष्ट्रिय व्यापारको आकार १५ खर्ब १५ अर्ब रुपियाँ पुगेको थियो । आयातमा भएको गिरावटले समग्र व्यापारमा यसको हिस्सा ९३.५९ प्रतिशतबाट घटेर ९२.५६ प्रतिशत पुगेको छ । सामान्य मात्र घटेका कारण निर्यातको हिस्सा ६.४१ प्रतिशतबाट बढेर ७.४४ प्रतिशत पुगेको छ ।

प्रायः वर्ष अनिवार्य जस्तो बढ्ने भन्सार राजस्व घट्नुको एक मात्र कारण आयातको गिरावट हो । आयात घट्नुले अर्कोतर्फ समग्र अर्थतन्त्रलाई उकास्न भने मद्दत नपुग्ने विज्ञहरूको भनाइ छ । स्वदेशी उत्पादन र तिनको निर्यातले विदेशी मुद्रा आर्जन हुने र व्यापार घाटा कम हुँदै जानुलाई अर्थतन्त्रको वास्तविक र दिगो सुधारका रूपमा लिइन्छ । नेपालमै उत्पादन हुने ७ अर्बको धागो, ६ अर्बको ऊनी तथा गलैंचा र ४ अर्ब रुपैयाँको तयारी कपडा निर्यात भएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत