दृष्‍टिकोण

सबैतिर पिसीआर माग, तर निर्देशिका भन्छ लक्षण नदेखि पिसीआर नगर ! हुन लागेकाे के हाे ?

“घर पस्न/सर्दा घरधनीको पिसीआर माग, राजधानी बाहिरबाट फर्के वडाको पिसीआर माग, अस्पताल बसेर फर्के पिसीआर माग, तर निर्देशिका भन्छ लक्षण नदेखि पिसीआर नगर । अन्तमा स्वास्थ्यकर्मी र सर्वसाधारणबीच असहज अवस्था । कसले कसलाई कसरी बुझ्ने बुझाउनमा ग्याप भयो जसले गर्दा सर्वसाधारणले दुःख पाइरहेका छन् ?”

यो आवाज एक डा. को हो । उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन हुन् । उनले ट्विट गर्दै यो दुखेसो पोखेका हुन् । उनका यी हरेक शब्दले कोरोनाको कहरमा सकसहरु प्रस्तुत भइरहेका छन् । हरेक स्थानका उर्दीहरु देख्दा लाग्छ हामी अमेरिकाभन्दा सुविधासम्पन्न हैसियतको भूमिमा जन्मिएका छौँ । तर, धरातल आकाश र पातालको जस्तो छ । जानकार छौँ तरपनि लिंडेढिप्पी गरिनै रहेका छौँ ।

भलै ३ महिनाको छेउमा लकडाउनको अवधिले अत्यास पारेको छ जीवन र जगत । सरकारको अदुरदर्शीता भनौँ या कोरोनाको कहर बढेको भनौँ बल्ल लकडाउन गर्ने बेला भएको समयमा हामी जीवन सहज बनाउन देश खुकुलो बनाउँदैछौँ । यसमा सरकारको एउटामात्र लक्ष्य थियो त्यो हो कर । कर उठाउने, तर सर्वोच्चले लकडाउन खुलेको ३० दिनपछि कर उठाउन भनेपछि सरकार तल परको छ । १० अर्बको नजिक खर्च गरेको भनिएको रकमले जनतासम्म राहत नपुगेको परिपेक्षमा सो खर्चमा अपारदर्शिता देखिनु जनताको बीचबाट स्वभाविक थियो । आक्रोस अझै थामिएको छैन पनि । न सरकारले कोरोना रोकथाममा फड्को मार्न सक्यो न कोरोना संक्रमित घटाउन सक्यो न जनतालाई विभिन्न कुरामा राहत नै बाँढ्न सक्यो । १९ जनाको कथित नामले मृत्युवरण गर्नुपरेको छ । हुँदाहुँदा लकडाउनको बीचमा करको मुद्धाले सरकारप्रति जनताको आक्रोस बढ्न गएको छ ।

बजार आज खुल्ला भएको छ । जनता सडकमा निस्किएका छन् । बैंक तथा वित्तीय संस्थामा भिड बढेको छ । सबैतिरको भिड दुरी कायम गरेर गरिएका देखिँदैनन् । त्रास छ तर बाँच्नुपर्ने अवस्थामा पुगेका हामी जनताले क्षणभरमै सामान्य नियम विर्सिएको देखिएको छ । कोरोना नसकिन्जेलसम्म दुरी कायम राख्दै सुरक्षाको विविध पक्षलाई सेकेण्डभरमै अवलम्बन गर्नुपर्ने यो समयमा झनै चनाखो हुनुपर्ने देखिएको छ । यहिबेला सरकार ढिकुटी रित्तिएको प्रचार गरिरहेको छ । पीडामाथि पीडा थपिएको छ ।

क्वारेन्टाइनमा दिनदहाडै बलात्कार भएका छन्, सार्वजनिक यातायातमा खचाखच यात्रु कोचेजस्ता क्वारेन्टाइन छन्, विदेशबाट भित्रिनेको संख्या बढेको बढ्यै छ, काठमाडौँ भित्रिनेको संख्यापनि बढ्दो छ, परीक्षणको दायरा खासै बढ्न सकेको छैन, अस्पतालहरु भरिँदै गएका छन् । डाक्टर सुरक्षित छैनन, पैसा आउने ठाउँ रोकिएका छन् लगायत सबैक्षेत्र तहसनहस भएको छ । सरकार उत्थान गर्ने रणनीति बनाउनमा भन्दा उखान टुक्का र अदुवा लसुनमा दिन गुजार्दो छ । यो अवस्थामै फ्रन्ट लाइनमा भएको डाक्टरको यो दुखेसोसहितको अक्षरहरु प्रकाशित भएका छन् । भन्नुहोस हामी कुन यात्रामा छौँ र अवस्था झनै असहज बनाउन किन लागिरहेका छौँ ?

सरकार ! अवस्था दिनकै असहज बन्दै गएको छ । पूर्व तयारीमा चुकेका तिमी अब झन कसरी प्रस्तुत हुन्छौँ । कि कोरोनाको औषधि हातमा बोकेर तिमी यी काम गर्दैछौ हो ? होइन भने तिम्रा कानुन कसरी कार्यान्वयन गर्छौ यहि बेला होइन ? कि फेरी उत्पात संक्रमण बढेपछि ७ दिनभित्र कर्फ्यू लगाउने छाँट हो ? तिमी आफू त टेकेर बसेका छैनौ झन ति दिन टिक्न र टिकाउन सक्छौँ ? खै तिम्रा सल्लाहकार र नीतिकार को हुन् ? उनीहरुले के सल्लाह दिए ? यहि हो सल्लाह ? अबका दिन तिम्रा झनै चुनौतिपूर्ण र नियमको पूर्ण पालना गराउने हुन्छन् । तिमी तयार भएका छौ कि छैनौँ ? कि क्वारेन्टाइनकै ताल हो ! तिमीबाट जनताले पनि आशा मारिसकेको अवस्था छ ।

तसर्थ छवि राख्ने या झनै गिराउने तिम्रै हातमा छ । जनता हजुर हामी (जुन र जहाँ छाैँ) हामीपनि सुध्रने हाे कि ! आगे जो मर्जी ।
 

गाउँ सहर डेस्क

तपाईँको मत