दृष्‍टिकोण

बैशाख १५ पछि काेराेना भाग्दैन, यी कुरामा अभ्यास गर्ने कि !

काठमाडौँ । चीनी धेरै खाएपछि तितो हुन्छ भनेजस्तै महामारी भएको कोरोनाका विज्ञहरु यतिविघ्न विश्वले पाएको छ कि त्यसको भागेदारीमा म पनि पर्छु । स्वभाविक पनि हो, सचेतना राख्दा राख्दै सबै डाक्टर हुन्छन् । यसलाई नकारात्मक भन्दापनि सकारात्मक तरिकाले बुझ्नु जरुरी छ ।

तर कुरा प्राविधिक पक्षको आउँछ भने प्राविधिक ज्ञान भएकाले नै यसको उत्तर दिने हो । यसको अर्थ अन्यले प्रश्न गर्न नपाउने भने होइन होला पक्कै । कोरोनासँग सम्बन्धित कयौँ यस्ता कुराहरु राज्यका ओहोदाले त बोल्दै हिँडेका छन भने जनता त उत्सुकताका साथ जान्न कोशिष गर्नुलाई गलत बुझ्नु भएन र हुँदैन । तर के गर्ने, हद भएपछि तितो हुनु मानवीय स्वाद नै हो । यो घानमा कृपया कोरोनालाई नराखेकै बेश ।

जसरी भाइरसले नेपालमा ६ गते पछि छिर्छु भनेको थियो त्यसैगरी अब बैशाख १५ बाट भाग्छु सायद भनेको छैन होला । यी कहानी र हँसाउने कुरा हुन जसको कुनै तुक छैन । यी व्यंग्यात्मक शब्द र बोलीहरु हुन, जुन कोरोना र लकडाउनमा सरकारलाई घच्घच्याउन ल्याइएका शब्दबाण हुन् । यसको विश्वास गर्नु र कानखोज्न कागतिर जानुजस्तै हुन् । तर महत्वपूर्ण कुरा, अब बैशाख १५ गते लकडाउन सकिँदैछ ।

याे अवस्थामा तीनवटा विकल्प छन सरकारसँग । पहिलो लकडाउन अझै लम्ब्याउने, दाेस्राे संक्रमण नरहेका स्थानमा खुलाउने र तेस्राे नियम कानूनको पालना गर्दै सामान्य जीवनतर्फ उन्मूख हुने । यी तिनै विकल्पको संभावना अझै छ नेपालमा । तर जुनसुकै विकल्प रोजेको खण्डमा पनि हामीले सिक्नुपर्ने कुराहरु धेरै छन् । 

विभिन्न क्षेत्रमा कसरी व्यवस्थापन गर्ने ?

कोरोनाभाइरसले थोरै-धेरै, धनी-गरिब भनेको छैन । सबै ठाउँमा उत्तिकै सावधानीका साथ जीवन चलाउनुपर्ने हुन्छ तबसम्म जबसम्म यसको कुनै दिर्घकालीन उपचार वा भ्याक्सिन बन्दैन । विज्ञको कुरालाई आधार मान्दा कम्तिमा पनि २०२२ सम्म हामी सजग हुनैपर्छ ।

अब भन्नूहोस, यो समयावधिभित्र जीवन कसरी चलाउने त ? जनजनको प्रश्नसँग सबै सहमत हुने ठाउँ छ र हलपनि खोज्नुपर्ने भएको छ । कसरी खाने, कसरी सुत्ने, कसरी हिँड्ने, काम गर्ने, विद्यालय जाने, पढ्ने, यातायातमा हिँड्ने, उद्योगमा काम गर्ने, के खाने, के नखाने, आदिसँगै जीवन कसरी व्यवस्थापन गर्ने ?? जस्ता अनेकन कुराहरुले सायद सबैको ढ्यांग्रो ठोकेको हुनुपर्छ ।

हो पनि किनकी पहिलेको जस्तो अवस्थामा हामी यी सब गर्न सक्नेछैनौँ । सबैमा पावन्धी हुनेछ अनि एउटा रेखाभित्र रहेर यी सब कुराहरु हामीले गर्नुपर्ने हुन्छ । असहज अवश्य छ तर के गर्ने बाँच्नु छ, जीवन गुजारा गर्नुपर्ने छ । यसको लागि हामी आफैँले नियम बनाउन सक्छौँ, अभ्यास गर्न सक्छौँ र गर्नैपर्ने पनि छ ।

सामाजिक दूरीको अभ्यास धेरै गरौँ ताकि नचुकियोस्
हरेक ठाउँमा हुने भिड अनियन्त्रित बन्दा, भेटघाट बढ्दा भाइरस एकबाट अर्कोमा सर्ने अधिक संभावना हुने भएकाले यस्ता स्थानहरुमा सामाजिक दूरी राख्नैपर्ने हुन्छ । 

स्कूल/कलेजः
दैनिक लाखौँ विद्यार्थी, शिक्षक र सरोकारवालाहरु जम्मा हुने स्थान हो पाठशालाहरु । यहाँ नियम बसाउन र सो अनुसार चल्न अत्यन्तै गाह्रो हुने देखिन्छ । सामाजिक दूरी पालना गरेर स्कूल/कलेज सञ्चालन सायदै हुने देखिन्छ । हाम्रो हैसियतमा यो पक्षमा हामीले सक्छौँ या सक्दैनौँ भन्न सकिने अवस्था देखिँदैन । यो क्षेत्र केही समय पछिनै खुल्नसक्ने आंकलन पनि गरिएको छ । सरकार त भन्दैछ— दशैँअघि कुनै संभावना छैन । यदी खुलेमा सामाजिक दूरी कायम गर्नैपर्ने हुन्छ, यसमा बरु विद्यार्थीलाई दिनको ग्याप गरेर कक्षा सञ्चालन, अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने देखिन्छ ।

यातायातः
बढी भिड हुने स्थानमध्ये यातायात क्षेत्र सबैभन्दा जोखिम छ जहाँ २ देखि १०० जनासम्मले यात्रा गर्छन जमिनमा । यस्तै हवाइ यातायातमा ३०० सम्मले यात्रा गर्छन् । ठाउँ ठाउँमा स्यानिटाइज बक्समार्फत स्यानिटाइज गरेर चढाइएपनि सँगै रहँदा भाइरसले आक्रमण गर्ने संभावना हुन्छ नै । तसर्थ यस्ता यातायातमा कम्तिमा २ मिटरको दूरी कायम गर्नैपर्ने हुन्छ । यातायातमा २ देखि ३ सिट छाडेर यात्रा गर्नुपर्ने हुनसक्छ, हवाइमार्ग वा स्थलमार्ग दुबैमा । यो संभव नहोला, बिरोध आउलान तर के गर्ने गर्नैपर्ने देखिन्छ, विकल्प छैन ।

बैंक तथा वित्तीय संस्था र बीमाः
हुन त अहिलेको विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाले सेवा दिइनै रहेका छन् । समय छोट्याएर भएपनि सेवा प्रवाहमा लागिरहेका छन् । जोखिम छ पैसामा तरपनि उनिहरुले सेवालाई निरन्तरता दिइरहेकै छन् । उनीहरुले दूरीलाई पालना गर्दै भविश्यमा पनि सेवा दिन सक्नेछन् । बीमाको दायरा थप व्यापक बनाउँदै यस्ता जोखिममा थोरै भएपनि थप राहत दिन्छ भन्ने शिक्षा बीमा क्षेत्रले दिनुपर्ने देखिन्छ । त्यहाँपनि सामाजिक दूरीको परिपालन गर्दै सेवा दिनुपर्ने हुन्छ । पैसाको कारोबार गरेपछि घरमा लगेर स्यानिटाइज वा सफा गरेर मात्र राख्न अथवा बैंक तथा वित्तीय संस्था वा बीमाले सोको व्यवस्था गरेर ग्राहकलाई पैसा दिनु र लिनु आवश्यक छ ।

खुद्रा व्यापार/तरकारी पसलः
हाम्रो देशमा खुद्रा व्यापारमा अत्यावश्यकीय पसल तथा व्यापारहरु अहिलेको परिस्थितिमा चलेकै छन् । आवश्यक पहिरनसँगै सावधानीलाई आत्मसात गर्दै, सामाजिक दूरीलाई निरन्तरता दिँदै उनीहरुले सेवादिन सक्नेछन् । थप सावधानी अपनाउँदै व्यापार गर्न सक्नेछन् । पसल खोल्ने समय कम राख्दा ग्राहकको भिड बढ्नसक्ने कुरालाई नजरअन्दाज गर्दै पसलको समय र ग्राहकको समय मिलाउनु अत्यन्तै आवश्यक छ । साथै तरकारी पसल जुन मानिसको अत्यावश्यक चिज हो र लकडाउनको बेलापनि सेवा दिइरहेका छन्, अबका दिनमा झनै सजगताका साथ सेवा र उत्पादनमा ध्यान पुर्याउनुपर्ने देखिन्छ । र तरकारी लाने र खानेले पनि सफासँग धोएर, मज्जाले पकाएर खानुपर्ने हुन्छ । कपडा अर्थात केही अन्य कुराहरू किनमेल गर्दा र मानिसँग सम्पर्कमा आउँदा नियमकाे पालना र दूरी राख्नैपर्ने हुन्छ ।

अस्पताल/चिकित्सक/औषधि कम्पनीः
चुस्त दुरुस्त र अत्यावश्यकीय क्षेत्र अस्पतालको सेवा, सुविधा, व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ । नीजि अस्पतालको साँडेको व्यवहार अब बन्द गरिनुपर्छ । अस्पतालमा चाहिने सामग्रीमा अन्यत्रको भन्दा ठूलो लगानी आवश्यक छ । उपकरण र सेवालाई थप प्रभावकारी बनाउँदै विरामीको सेवा गर्नुपर्ने हुन्छ । सामाजिक दूरी र संभावित संक्रमण फैलन नदिन यो क्षेत्रले विशेष शिक्षा र सचेतना अभिवृद्धि गर्न कुनै कसर बाँकी राख्नु हुन्न । चिकित्सक हाम्रा भगवान हुन उनीहरुको कुनैपनि हालतमा अवलेहना गरिनुहुन्न, बरु प्रोत्साहन गर्दे जानुपर्ने हुन्छ । यस्तै औषधि उत्पादन तथा आयात गर्नेमा दूरुत्साहन होइन प्रोत्साहनको आवश्यकता छ ।

कर्मचारी/गैरसरकारी संस्था/नीजी कम्पनी
जोखिमसँग काम गर्नुपर्ने अर्काे क्षेत्र भनेकाे सार्वजनिक र नीजि प्रशासनिक क्षेत्र हुन् । दैनिक सेवा दिने र लिने चाप बढी हुने भएकाले दुबैले सावधानीका साथ काम गर्नसक्नु चुनाैति हुनेछ । संक्रमण फैलने र फैल्याउने संभावना बढी हुने र त्यसले राेग बढ्ने भएकाले पनि नियमकाे पावन्दीमा रहेर सेवा प्रवाह गर्नुपर्ने हुन्छ । अनिवार्य चिजकाे प्रयाेग गर्दै सेवामा कमी ल्याउनु हुँदैन ।

सञ्चारकर्मी/अधिकारकर्मी
जुनसुकै जोखिमसँग जुध्ने यो क्षेत्रका सञ्चारकमी/अधिकारकर्मी/सञ्चालकहरुले पनि जोखिमलाई बहन गर्दै थप सावधानीपूर्वक काम गर्नुपर्ने र दूरी कायम गर्नुपर्ने देखिन्छ । यो क्षेत्रमा परेको मर्कालाई सरकारले सम्बोधन गर्दै आगामी दिनमा थप सुरक्षित बन्दै सेवा दिनुपर्ने देखिन्छ ।

उद्योगः
सामाजिक दूरी, उचित सुरक्षाको उपलब्धता, सुविधालाई ध्यानमा राखेर श्रमिकको दूरी कायम गर्दै, भिड हुने भए कसैलाई १ दिनको ग्याप गर्दै सेवा दिनुपर्ने अभ्यास गरिनुपर्दछ । कुनैपनि श्रमिक लकडाउन हुँदा भात खान नपाउने र उद्योग बन्द हुँदा सरकार चुपलागेर बस्ने अवस्था आउनु हुँदैन । नियम पालना गरेर उत्पादन बढाउनु पर्दछ, यसमा सरकारको गत्तिलो अनुगमन हुनु जरुरी हुन्छ ।

कृषि क्षेत्रः
हुन त खेतिपातिमा ठूलो संख्याको सामेल हुने क्षेत्र एकाध बाहेक खासै असर त यो लकडाउनमा परेको छैन । तरपनि अबका दिनमा यो क्षेत्रमा पनि सामाजिक दूरी पालना गरेर नै खेतिपाति गर्नुपर्ने हुन्छ । यहि क्षेत्रले देशमा कसैलाई पनि भोको पेट राखेको छैन, यसको शक्ति र उत्पादन थप बढाउनको लागि सरकारले विशेष प्याकेज ल्याउनु जरुरी हुन्छ । मर्कामा परेका कृषकलाई उचित क्षतिपूर्ति दिँदै उत्पादन बढाउनको लागि सरकारको सहयोग आवश्यक पर्दछ ।

पर्यटन क्षेत्रः
भाइरसले नमज्जाले थेचारेको क्षेत्र हो पर्यटन् । सबै तहसनहस बनाएको छ । होटल श्रमिकदेखि लिएर सञ्चालकसम्म र उत्पादन तयार गर्नेदेखि लिएर जीवन धान्नेसम्म कसैलाई पनि बाँकी राखेन कोरोनाले । धेरै क्षति भएको छ यो क्षेत्रमा । सरकारले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरेर नियमको पालना गर्दै पर्यटन र पर्यटकीय क्षेत्रको पुनःस्थापना गर्नुछ । होटल सञ्चालक तथा उत्पादन विक्री स्थलमा नियमको पालना अधिक गराउनुपर्ने देखिन्छ, अबका दिनमा । पर्यटन श्रमिक, उद्योगपति सबैले दूरी कायम गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । साना होटल तथा रेष्टुरेन्टमा परेको मर्कालाई उचित सम्बोधन गर्दै उद्यमीले पनि आगामी दिनमा थप सजगताका साथ व्यवसाय गर्नुपर्ने देखिएको छ ।

धार्मिक क्षेत्रः
नेपाल बहुसांस्कृति र बहुजातिय मुलुक भएकोले धर्मसंस्कारको पाटो अद्वितिय र अवर्णनिय रहेको कुरामा दुइमत छैन । जन्म, विवाह, मृत्यु संस्कार, भेला, महोत्सव, मेला जस्ता कुराहरुमा अबका दिनमा थप सजगता अपनाउनुपर्ने हुन्छ । पार्टी, भोजजस्ता कुराहरुमा थप सावधानीपूर्वक काम र जनसंख्या घटाउनु संक्रमणलाई भगाउनु र एकअर्कामा प्रवेश नगराउने द्वार हुन । यस्ता कुराहरुमा सावधानी अपनाएर आगामी कार्यक्रमहरु गर्नुपर्ने हुन्छ ।

अन्य क्षेत्रः
जाे र जहाँ कार्यरत छाैँ त्यहाँ दूरी कायम गर्नुकाे विकल्प छैन । चाहे ति साना समूहका काम हुन वा ठूला नै किन नहुन सबैले नियममा बसेर अबका दिनमा काम गर्ने र गराउनु पर्नेछ । खाँदा, लगाउँदा, हिँड्दा, काराेबार गर्दा, समूहमा भेला हुँदा, विरामीकाे अगाडि जाँदा, मलामी जाँदा, जन्ति जाँदा, फिल्म हेर्दा, थिएटरमा बस्दा, हाच्छिउँ गर्दा, थुक्दा, खाेक्दा जस्ता कुराहरूमा अनिवार्य सीमामा रहेर जीवन चलाउनुपर्ने हुन्छ । अटाे माेबाइल्स र मेशिनरी क्षेत्रमा पनि सम्बेदनशिल भएर काम गर्नुपर्ने हुन्छ ।

थिएटर, सिनेमा घर तथा रंगमञ्च क्षेत्रमा परेका प्रभावकाे पनि उचित क्षतिपूर्ति राज्यले प्रदान गर्दै सीमामा रहेर भाेलिका दिनकाे व्यवसाय सञ्चालनमा पनि ध्यान दिनु पर्दछ । भाेलिका दिनमा सबै नियममा रहेर उनीहरूले पनि सेवा दिनु जरूरी छ ।

सबैलाई राहत अनिवार्य छ 
हुन त यहाँ दियोभने सबैले लिन छाड्दैनन, सक्नेले पनि लिन्छन्, नसक्नेले त माग्नेनै भए । सबैक्षेत्रमा सबैलाई गाह्रो छ तर यसमध्ये पनि कुन क्षेत्र र व्यक्ति बढी मर्कामा परेका छन सो को पहिचान सरकारले गरेर उचित राहतको व्यवस्था तत्कालै गरिनुपर्दछ । साथै उचित क्षतिपूर्तिको व्यवस्था गरेर उसको अवस्था सामान्य बनाएर काम गर्ने/गराउने अवस्थामा पुर्याउनुपर्दछ । देशमा सरकार छ र गर्छ भन्ने अवस्था सिर्जना गरिनुपर्दछ ।

आउनुहोस यी कुराहरुलाई मूलमन्त्र मान्दै जीवन चलाउन अभ्यास गरौँः-

१. भिडभाड गर्ने छैनौँ, वाहियात खर्च गर्नेछैनाैँ,
२. सामाजिक दूरी कायमसँगै व्यायाममा ध्यान दिनेछौँ,
३. अपरिचित, विदेशीको सम्पर्कमा आए वा गए नियमअनुसार २ हप्तासम्म क्वारेन्टाइनमा बस्छौँ,
४. भाइरसका केही लक्षण भए/देखिए स्वास्थ्यकर्मीको सल्लाहमा बस्छौँ,
५. सरसफाइमा ध्यान दिन्छौँ, हात पटक-पटक धुने गर्छौँ,
६. खानेकुरा सफासँग धोएर वा पकाएर, स्वस्थ्वर्ध्वक खाना खान्छौँ,
७. अनावश्यक तनाव कम गर्दै काम गर्नेछौँ,
८. सेवा लिने र दिनेमा कुनै कमी र विभेद गर्नेछैनौँ,
९. मानवीयताको प्रदर्शन गर्नेछौँ, सहयोगी भावनाको विकास गर्नेछौँ,
१०. नियमका पालना गर्नेछौँ/गराउने छौँ ।

तपाईंको आगामी दिन थप प्रतिरोधात्मक बनोस्, शुभकामना ।
 

गाउँ सहर डेस्क

तपाईँको मत