गाउँ सहर

सम्पादकीय : कोरोना भाइरस विरुद्ध एक होऔँ, नयाँ वर्षकाे शुभकामना

यो एउट शास्वत सत्य नै हो । वर्ष २०७६ बिदा भएर गएको छ । हामी नेपाली नयाँ वर्ष विक्रम संवत २०७७ मा प्रवेश गरेका छौं । समयको प्रवाह अनन्त छ । यो चलिरहन्छ । यो अनन्त प्रवाहलाई हामी खण्ड खण्डमा विभाजन गर्छौैं र आफूअनुकूल बनाउने प्रयत्न गर्छौं । खुसी हुन्छौँ, खुशीयाली साटासाट गर्छौं । साँस्कृतिक अवसरहरू, चाडपर्व, नयाँ वर्ष समयका यस्तै खण्डहरू हुन् जो हाम्रो सामाजिक जीवनशैलीसँग जोडिएका छन् । समयका यी अनेक खण्डहरू हाम्रा जीवनशैली र परम्परा बनेका छन् । हामी नेपाली आज यही परम्परा र जीवनशैलीको अर्को कडीमा आइपुगेका छौँ, नयाँ वर्ष २०७७ को स्वागत गर्दैछौँ ।  धेरै वर्षहरु यसरी नै बित्दै जाने हुन् ।

तर समय सदा एकैनास र एकै गतिमा रही रहन सक्दैन । वर्ष बित्ने कुरा स्वभाविक छ तर समयको काल खण्डले नेपाल र नेपालीलाई मात्र हाेइन विश्वनै अहिले विषयम परिस्थितबाट गुज्रिरहेकाे छ अर्थात चीनबाट विश्वभर फैलिएकाे काेराेना भाइरस (काेभिड-१९) सँग लडिरहेकाे छ । सौभाग्यवश नेपालमा अहिलेसम्म कोरोना भाइरसकाे संक्रमण १२ जनामा मात्र देखिएकाे छ । त्यसमध्ये एकजना निकाे भइसकेका छन् त केही छिट्टै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । अरूकाे अवस्था पनि सामानय छ । अहिलेसम्म काेराेना भाइरसबाट कसैले ज्यान गुमाउनु परेकाे छैन, हाम्राे लागि जुन सबैभन्दा सुखद पक्ष छ । विश्वव्यापीरूपमा यो भाइरसले महामारीको रूप धारण गरिसक्दा पनि नेपाल अहिलेसम्म त्यो त्रासदीकाे मृत्युबाट मुक्त रहनु सुखद् पक्ष हो । यद्यपि, यसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ देखि लकडाउन यथावत छ । अब झन् हामी सचेत हुनैपर्नेछ ।

कोरोना भाइरस मानवबाट मानवमा सर्ने भएकाले पनि संक्रमित व्यक्तिको अवस्था उनीहरूकाे संसर्गमा रहेका कयौं मानिसमा संक्रमण फैलाउने सम्भावना रहन्छ । यसर्थ मुलुकमा थप कोही संक्रमित नहाेस् र भारतसँगकाे खुल्ला सीमानाका कारण काेही व्यक्ति नभित्रियोस् भनेर सतर्कता अपनाउन नै बुद्धिमानी हुनेछ । यस अतिरिक्त प्रत्येक नागरिकले पनि आफै सचेतता अपनाउन जरुरी छ । सबै जिम्मेवारी सरकारको मात्र हो भनेर आफ्नो दायित्वबाट नागरिक पन्छिने हो भने यसबाट निम्तिने खतराबाट ऊ स्वयंमात्र होइन, उसको परिवार, गाउँ–टोल, समाज हुँदै सिंगो देश नै प्रभावित हुन सक्छ । कोरोना नियन्त्रणमा चीनबाहेक अन्य मुलुकले प्रभावकारी ढंगले सफलता हात पार्न सकेका छैनन् । यो भाइरसको नियन्त्रणका लागि केही मापदण्ड स्थापित भइसकेको छ, जो हामीले चीनबाट पनि सिक्न जरुरी हुन्छ ।

देशकाे कुरा गर्दा दुई तिहाईको सरकारले समृद्धिको उच्च स्वरमा कुरा गरे पनि मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विकास र समृद्धिको दिशामा बाटो पहिल्याउँदै हिड्न सकेन । जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमका साथै जनताको दैनीकी र जीवनस्तरसँग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सेकेनाैँ । सामान्यतया कुनै पनि विषय, सन्दर्भ र घटनाका सम्बन्धमा चर्चा परिचर्चा गर्दा राम्रो र सुधारिएको पक्षको भन्दा सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै उपदेश बढी दिने संस्कारबाट ग्रस्त रह्यौं यो वर्ष पनि हामी । 

सारा विश्व काेराेना भाइरससँग लडिरहेका बेला पनि हाम्राेमा केही व्यापारी र राजनीतिक नेतृत्व भष्टाचार र अनियमिततामा मुछिए । जसले दु:खमा पनि मुलुकमा भ्रष्टाचार र दण्डहीनता कसरी बढिरहेको छ भन्ने उदाहरणकाे रूपमा पुष्टि गरिदिए । जुन नहुनुपर्ने थियाे । याे वर्ष प्रधानमन्त्रीले आफ्नै जन्म दिनमा काटिएकाे केक देखि विश्वास पात्र गोकुल बास्काेटा कमिसन प्रकरण, बालुवाटारको जग्गा काण्ड, पछिल्लाे समय चीनबाट ल्याइएकाे मेडिकल सामग्री खरिदमा प्रकरणमा भ्रष्टाचारमा मुछिनुसम्मका काण्डले देशभित्र चर्चा पाइनै रह्याे । जसले देशकाे सुशासन, पारदर्शिता र सरकारकाे छविमा कालाे दाग लाग्नबाट बचाउन सकेन ।  

याे वर्ष कृष्णबहादुर महराले संसद सचिवालयको एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार प्रयासको आरोप लागेपछि सभामुख पदबाटै राजीनामा मात्र दिनुपरेन केही समय जेल समेत बस्नुपर्‍यो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद पनि उत्तिकै चर्चामै रह्याे भ्रष्टाचारमा फसेपछि विभिन्न प्रदेशका मन्त्रीहरूकाे पद नै गुमाउन पुगे । 

विभिन्न काण्ड यो वर्षका सबै भन्दा मुख्य समाचार बने । आफ्ना नजिकका र आसेपासेलाई काखी च्याप्दा गलत संस्कार र भष्ट्राचारले बढावा पायो । सरकारी सम्पत्ति र राज्यको स्रोत हिनामिना र दुरुपयोगमा राजनीतिक व्यक्तिहरूकै नाम अग्रपंक्तिमा आउने क्रम राेकिए, झन् बढ्याे ।

संसदीय प्रणालीमा विपक्षलाई ‘प्रतीक्षारत सरकार’ पनि भनिन्छ । नेपालमा अहिले नेपाली कांग्रेस प्रमुख विपक्षी दल हो । जनमतमा खासै सानो नभए पनि संसद्मा कांग्रेसको उपस्थिति संख्यात्मकरूपमा निकै कमजोर छ । तर, यही कारणले अहिले संसद्मा कांग्रेसको भूमिका प्रभावकारी नभएको भने हैन । सरकारको प्रभावकारी निगरानी गरेर सशक्त विरोध गर्न सकेमात्र लोकतन्त्रको पनि रक्षा हुन्छ । नागरिकका कुरा भन्दा पनि घरभित्रैकाे झगडाबाट कांग्रेस बाहिर निस्कन सकेन । जनतामा कुनै उत्साह थप्न सकेन । न त सरकारकाे गल्ति औंल्याएर जनतामार्फत खबरदारी गर्न सक्याे । कहिलेकाहीँ माइतीघर मण्डलामा भातृसंगठनकाे उपस्थितिबाहेक सरकारलाई सहि बाटाेमा ल्याउन दबाब दिन सकेन । 

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराश हुन स्वभाविकै हाे । राजनीतिक दल र तिनकाे नेताहरू आ–आफ्ना निश्चित विचार, दर्शन, सिद्धान्त र राजनैतिक नाराबाट टसमस् नहुने र अहंकारको डम्फु बजाउँदै भित्तामा सिंगौरी हान्ने गलत राजनैतिक अभिष्टका कारण मुलुकले खास प्रगति गर्न सकेन । अरु मौसमी आरोप प्रत्यारोप त नेपाली राजनीतिको संस्कार जस्तै बनिसकेको छ । अरु भ्रष्ट आफु सर्वश्रेष्ठ, म र मेरो मात्र ठीक अरु जम्मै गलत, हामी भए हुन्छ अरु आए स्वीकार गरिदैन, यही चिन्तन, व्यवहार र मानसिकताका कारण मुलुकले खास गति लिन सकेन । याे क्रम अझ बढ्ने देखिन्छ । सरकारभित्रकै मन्त्रीमण्डलदेखि सरकारी पदाधिकारी हाेस् वा सत्तारूढ दलभित्र समन्वय नगर्ने र एक अर्काप्रति दोषारोपण  आशंकाको घेरा बाक्लिने क्रम चुलिँदो छ । जुन सुखद लक्ष्यण त हुँदै हाेइन ।  

कुराको आत्मरतिमा रमाइरहेको सरकारले कर्ममा विश्वास गरोस् । अबका दिन थप चुनाैतीपूर्ण छ सरकारका लागि राेगसँग लड्नु, जनताकाे ज्यान जाेगाउनु त छँदै विदेशमा रहेका आफ्ना लाखाैं नागरिकलाई कसरी व्यवस्थापन गर्ने, बेराेजगार भएर फर्केकाहरूकाे लागि स्वदेशमा राेजगारीका अवसरहरू थप चुनाैतीपूर्ण देखिएकाे छ । रेमिट्यान्सबाट चलेकाे मुलुकमा त्याे स्राेत ह्वात्तै गुम्न पुग्दा देशकाे अर्थतन्त्रले बेहाेर्ने क्षति कम छैन ।

तसर्थ, यहि विषम् परिस्थितिबाट पनि मुलुकको समग्र विकास प्रक्रियाले गति लेओस् । विगत जे जस्तो भएपनि भविष्य सुन्दर एवं स्वर्णिम होस् । सबैका आपसी बेमेल, कटुता, असमझदारी हटुन् । सबै नेपाली एउटै मालामा सामुहिक भावनामा जोडिन सक्ने प्रण गरौं ।

अपेक्षा गरौँ, सरकारले बितेको वर्षको गम्भीरतापूर्वक समीक्षा गर्नेछ । आगामी दिनमा जनस्तरबाट उठेका आवाजहरूलाई सरकारले सुदृढ गर्दै जानेछ । यस वर्ष २०७६ का गल्तीहरू दोहोरिने छैनन् । आम नागरिकले आफ्ना लागि सरकार छ भन्ने अनुभूति गर्न सकून् । प्रत्येक नागरिकले आफू सुरक्षित रहेको अनुभव गर्न सकोस् । 

द्रुततररूपमा फैलिएको यो भाइरसले अहिले विश्वका कयौं विकसित तथा आधारभूत सुविधाका धनी भनिएका मुलुक पनि कोरोना संक्रमणबाट मुक्त हाेइन बढ्ने क्रममा छ । सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको पहललाई सहयोग गर्दै संकटको घडीमा होष्टेमा हैँसे गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । यसले विश्वमा पारेको प्रभाव, कयौं मुलुकले भोगेको नियतिलाई पाठका रूपमा ग्रहण गर्दै हामीले आगामी दिनमा निम्तन सक्ने खतरालाई टार्न सक्छौं । यसका लागि तीनै तहका सरकार, दलहरू, सामाजिक संघसंस्था, व्यवसायीलगायत आम नागरिक एक हुन आवश्यक छ । काेराेना भाइरस विरूद्ध एक होऔँ ।

नयाँ वर्षको प्रारम्भ भनेको बितेको वर्षको समीक्षा गर्दै नयाँ योजनाका साथ अघि बढ्ने समय पनि हो । खास गरी खुलेर भेटघाट, भाेजभत्तेर गरेर शुभकामना साटासाट, मनोरञ्जन तथा पूजाआजा गरी नयाँ वर्ष मनाउने परम्परा छ । तर नेपालमा मात्र हाेइन विश्वभर छरिएर रहेका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्षको उत्सव यस वर्ष रहेन । तर जाे जहाँ छाैं हार्दिकताकासाथ नयाँ वर्षकाे स्वागत गराैंँ । नयाँ वर्ष, नयाँ योजना, संकल्प र कार्यान्वयन सहितको वर्ष बनोस् वर्ष २०७७ । गाउँ सहर डट कम परिवार

गाउँ सहर डेस्क

तपाईँको मत