गाउँ सहर

जे नहाेस् भनेर लकडाउन गरिएकाे थियाे भइछाड्याे, अहिलेसम्म नेपालमा संक्रमितबारे थाहापाउनुस्

काठमाडाैं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या (शनिबार नेपालकाे साँझ ६ बजेसम्म) ६० हजार ३९६ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि ११ लाख ३३ हजार ७७१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने २ लाख ३६ हजार निकाे भएका छन् ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

साेहि अनुरूप नेपालले पनि चैत्र ११ गतेदेखि लकडाउन गरिरहेकाे छ । 

नेपालमा पहिलाे केस गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । तर अहिले उनी निको भई घर फर्किसकेका छन् ।

नेपालमा हिजोसम्म विदेशबाट फर्किएकालाई मात्र कोरोना भाइरस संक्रमण भएको तथ्याङ्क थियो । हिजोसम्म ६ जना संक्रमित भेटिँदा उनीहरुले अरु कसैलाई यो सारेको देखिएको थिएन । तर आज पहिलो पटक विदेशै नगएकोलाई पनि कोरोनाको परीक्षण पोजिटिभ भेटिएको छ । नेपालभरमा कूल संक्रमितको संख्या ९ पुग्दा एक जनामा ‘लोकल ट्रान्समिसन’ देखिएको हो ।

विदेश गएको मान्छेबाट विदेश नगएको मान्छेमा कोरोना भाइरस सरेको छ । यहि सर्ने प्रक्रिया रोक्नका लागि नै पूरै देश विगत १२ दिनदेखि ठप्प थियो ।

धनगढीमा जुन परिवारमा यो सर्‍यो, संक्रमित व्यक्ति नेपाल आउँदासम्म नेपालले खाडी मुलुक र युरोपबाट विमान आवागमनमा रोक लगाइसकेको थियो। तर उनी चैत ६ गते भारत हुँदै काठमाडौँ आएका थिए। नयाँ दिल्लीबाट भिस्टारा एयरलाइन्स चढेर काठमाडौँ, काठमाडौँबाट बुद्ध एयरको विमानबाट नेपालगन्ज र त्यहाँबाट सार्वजनिक गाडीमा धनगढी पुगेका थिए ।

उनकै घरको परिवारको आफन्त एक जनामा कोरोना संक्रमण भेटिएको हो । अहिलेसम्म नेपालमा बाहिरबाट आएकाबाट अरुलाई सरेको देखिएको थिएन । यी ३४ वर्षीय पुरुषबाट भने आफ्नै परिवारमा सरेको देखियो ।

अब उनीसँगै दिल्लीबाट भिस्टारा एयरलाइन्स चढेर काठमाडौं आएका यात्रुहरु, बुद्ध एयरबाट नेपालगन्ज जाने यात्रुहरु र नेपालगन्जबाट धनगढी जाँदा सार्वजनिक गाडीमा सँगै बसेका यात्रुहरुलाई ट्रेस गरेर उनीहरुलाई निगरानीमा राखी उनीहरुको पनि नमूना परीक्षण गर्नुपर्ने चुनौति थपिएको छ ।

विमानका यात्रुको त नाम ठेगाना थाहा होला, गाडीको थाहा हुने कुरा भएन। यो अलि कठिन स्थिति आइपरेको छ ।

आज भेटिएका तीन मध्ये दुई संक्रमण भारतबाट आएकाहरुमा भएको हो । त्यसमध्ये एक जना मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष हुन् भने अर्का उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन् ।

नेपालमा एक जना व्यक्तिबाट अर्को व्यक्तिमा पनि कोरोना संक्रमण हुनु लोकल ट्रान्समिसन (स्थानीय संक्रमण)हो। नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ।

अहिलेसम्म आयातित केस थियो, तर अब कम्युनिटी ट्रान्समिसन देखिएपछि केही खतरा बढेर गएको छ।  लकडाउनलाई कडाइ गर्ने र कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउन ढिलो गर्न हुँदैन।

लोकल ट्रान्समिसनले एक तह खतरा बढेको छ। धेरैभन्दा धेरैकाे परीक्षण गरेमा  निकै प्रभावकारी हुन्छ, जसले भावी कार्ययोजना तयार गर्न सहज हुन्छ। तर अहिलेको समयमा भारतबाट भित्रिएका तथा सिमाना जोडिएका जिल्लामा विशेष कडाइ गरी क्वारेनटाइनलाई प्राथमिकता दिँदा पनि प्रभावकारी हुन्छ।

विदेशबाट आउनेलाई र उसको सम्पर्कमा रहेकालाई एक चरण अगाडि बढेर स्क्रिनिङ गर्नु आवश्यक छ। उनीहरुसँग सम्पर्कमा रहेका मानिसहरु आफैँ पनि सेल्फ क्वारेनटाइनमा बस्नुपर्छ। सरकारले पनि उनीहरुलाई विशेष निगरानी गर्न ढिलाइ गर्नु हुँदैन।

ह्वाजोङ विश्वविद्यालय, वुहानका रिसर्च स्कलर,  डा. रमेश आचार्य लक्षण नदेखिएका तर कोरोना पोजेटिभ देखिएका मानिसमा निको हुने सम्भावना बढी रहन्छ। झापा, विराटनगर, धरान, नेपालगञ्ज, धनगढी, दैलेख, सुर्खेतलगायतका जिल्लामा मास स्क्रिनिङको आवश्यकता रहेकाे बताउँछन् ।

उनले भने- 'वैदेशिक रोजगारीबाट आएका मानिसहरु र समुदायको मास स्क्रिनिङ गर्न ढिलाइ भयाे। नेपालमा समुदायमै पोजेटिभ केस देखिनुले खतराको घण्टी बजेको छ'।क्वारेनटाइन र लकडाउन अवधि नबढाउने हो भने अबको चारदेखि पाँच हप्तासम्म केसहरु बढ्न सक्छन् । नेपालमा लकडाउनलाई निरन्तरता दिनु आवश्यक छ।'

कोरोना भाइरसभाइरस (काेभिड-१९) संक्रमित र निकाे हुनेहरू:
१ : माघ ९ गते चीनबाट फर्केको, हाल स्वस्थ भइसकेको, पुरुष (काठमाडौं)

२ : चैत १० गते फ्रान्सबाट कतार हुँदै फर्केको, १९ वर्षीया महिला (काठमाडौं)

३ : चैत १२ गते दुबई एयरअरेबियाबाट काठमाडौं आएका, ३२ वर्षीय पुरुष (धादिङ)

४ : चैत १४ गते  दुबईबाट काठमाडौँ हुँदै सुदूरपश्चिम पुगेको, ३४ वर्षीय पुरुष (कैलाली)

५ : चैत १५ गते बेल्जियमबाट कतार हुँदै फर्केको, १९ वर्षीया महिला (बाग्लुङ)

६ : चैत २० गते युरोपबाट कतार हुँदै फर्केको, ६५ वर्षीया महिला (बाग्लुङ)

७ : चैत २२ गते मुम्बईबाट फर्किएका २१ वर्षीय पुरूष (कैलाली)

८ : चैत २२ गते उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरूष (कन्चनपुर)

९ : चैत २२ गते घरमै रहेका ३४ वर्षीय महिला (कैलाली) (आफन्तबाट सरेको)

गाउँ सहर डेस्क

तपाईँको मत