गाउँ सहर

बङ्गलादेशका राष्ट्रपतिकाे आज आउँदै, कुटनीतिमार्फत नेपालले नयाँ सम्भावनाका बाटाहरू खोज्ने अवसर

जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार (आज) नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् । 

करिब पाँच दशकअघि स्वाधीन भएको छिमेकी बंगलादेशबाट राष्ट्राध्यक्षस्तरीय पहिलो द्विपक्षीय भ्रमण बल्ल हुनु आफैमा एउटा ऐतिहासिक विस्मय हो ।

 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन् । बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ ।

दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ । ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ । उनले भ्रमण गर्ने राजधानीका पर्यटकीय तथा ऐतिहासिक स्थलमा समेत दुई देशको सम्बन्ध झल्काउने गरी सिँगारिएको छ । 

राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको राजकीय सम्मानका साथ स्वागत गरिनेछ । विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी गरिरहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन् । भ्रमणमा रहँदा उनले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नेछन् । त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उनले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

पछिल्लो समय नेपालमा उत्पादित बिजुली बङ्गलादेशमा निर्यात गर्ने सम्बन्धमा पनि दुई देशबीच सहकार्य चलिरहेको छ । नेपालमा जलविद्युत् उत्पादनको सम्भावनालाई बंगलादेशले देखेको छ भने, नेपाल पनि केही ठूला परियोजना सम्पन्न भएपछि एकाध वर्षमै विद्युत् निर्यात गर्नुपर्ने दबाबमा हुनेछ । दुई देशबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्बन्धी विभिन्न चरणका छलफल यसअघि भएका छन् । नेपालको सम्भावना देखेरै बंगलादेशले आगामी २० वर्षमा नेपालबाट ९,००० मेगावाट विद्युत् खरिद गर्न नीतिनिर्माण गरिरहेको छ । सरकारी र निजी स्तरबाट नेपालको जलविद्युत्मा लगानी गर्न बंगलादेशले चाहेको छ ।

यसो हुँदा नेपालले कृषि उत्पादन, तरकारी, फलफूल, दाल लगायतका १४६ वस्तुमा सुविधा र बजार पहुँच बङ्गलादेशमा पुग्नेछ । बङ्गलादेशले पनि आफ्ना १८० वस्तुमा नेपालमा सहज बजार र सुविधाको माग अघि सारेको थियो । 

भूपरिवेष्टित नेपालका लागि समुद्रसम्म पहुँच पुर्‍याउने भारतपछिको दोस्रो मुलुक भएकाले बंगलादेशसँग नेपालले नयाँ सम्भावनाका बाटाहरू खोजिरहेको छ । अर्कातर्फ, बंगलादेशले स्वाधीनता प्राप्त गरेपछि ऊसँग कूटनीतिक र राजनीतिक सम्बन्ध स्थापना गर्ने सुरुकै राष्ट्र हुनाले नेपालप्रति उसको रुचि देखिन्छ । दुवै मुलुक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक हुन्, बिमस्टेकका सदस्य हुन्, असंलग्न आन्दोलनका हिमायती हुन् । गरिबीको उस्तै दुश्चक्रबाट दुवै मुलुक मुक्त हुने क्रममा छन् । द्विपक्षीय कूटनीतिक औपचारिकतालाई आर्थिक अन्तरसम्बन्धको फराकिलो संघारमा लैजाने अवसर खोज्ने क्रममै राष्ट्रपति हमिदको भ्रमण हुन लागेको हो ।

चीनपछि संसारकै दोस्रो ठूलो परिमाणमा तयारी पोसाक निर्यात गर्ने राष्ट्र बंगलादेश हो । उसको प्रतिव्यक्ति आम्दानी १,८०० डलरको हाराहारी पुगेको छ,जुन २००८ देखियता करिब १५० प्रतिशतले बढेको हो ।यसै दशकमा उसको आर्थिक वृद्घिदर ७ प्रतिशतको हाराहारीकायम छ र २०३० मा दोहोरो अंक छुने प्रक्षेपण छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत