दृष्‍टिकोण

महरा दोषी भए १३ वर्ष जेल, के हाेला ?

काठमाडौँ । दशैँ झ्याप्प लागेकै समयमा पूर्व सभामुख कृष्णबहादुर महरालाई निवासबाटै नियन्त्रणमा लियो प्रहरीले । शत्रुको पनि चाडवाड नराम्रो होस भन्ने नसोच्ने हाम्रो समाजले यो विषयलाई पनि पचाएन । तर के गर्ने कामै त्यस्तै गरेपछि/मुछिएपछि ।

धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमी अर्थात आइतबारबाट प्रहरी हिरासतमा राखिएका छन् ।

महरालाई उनले यसअघि सभामुख हुँदा प्रयोग गरेको बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ करीब ६ः३० बजे सादा पोशाकमा गएका प्रहरीले पक्राउ गरी उनको निजी सवारीसाधनमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा लगेका थिए । बलात्कार अभियोगमा उनीभन्दा माथिल्ला तहका व्यक्तिहरू विश्वमा नमुछिएका होइनन् तर नेपालमा यो पहिलो घटना बनेको छ ।

प्रहरीले महरालाई पक्राउका लागि जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिएको थियो । महानगरीय प्रहरी परिसरका अनुसार हाल महरालाई बलात्कार प्रयासको मुद्दामा थप अनुसन्धानका लागि अन्य आरोपीसरह हिरासतमा राखिएको छ ।

जनताको चासो

मुलुकमा बलात्कार, यौन दुर्व्यवहार र महिला हिंसाका घटना सार्वजनिक र कारवाही हुने क्रम बढे पनि उल्लो तहका राजनीतिक पदाधिकारी जोडिएको यो पहिलो घटना हो ।

यही असोज १२ गते काठमाडौँको शान्तिनगरस्थित ‘डिप्रेसन’ को औषधि सेवा गर्दै आएकी संसद् सचिवालयमा कार्यरत एक महिलाको निवासमा भएको भनिएको सो घटनामा पीडित महिलाले सार्वजनिकरूपमा परस्पर विवादित प्रतिक्रिया दिए पनि प्रहरीलाई किटानी जाहेरी दिएकाले थप अनुसन्धानका लागि महरालाई प्रहरी हिरासतमा राखिएको हो । ती महिलाको सार्वजनिक पहिलो भिडियोमा आफू महराबाट बलात्कृत भएको उल्लेख छ भने दोस्रो भिडियोमा महरासँग लामो पारिवारिक सम्बन्ध रहेको र बाबुसमान व्यक्तिबाट त्यस्तो घटनाको कल्पना गर्न नसकिने उल्लेख छ ।

आरोप सार्वजनिक भएपछि तत्कालीन सभामुख महराको सचिवालयले पीडित भनिएकी महिलाको निवासमा त्यस दिन महरा नगएको र उक्त आरोप आधारहीन एवं षडयन्त्रपूर्ण भएको जिकिर गरेको थियो । 

२८ गते वा पछि के होला ?

पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा शोक मनाउन सर्वोच्च अदालतले यही असोज २७ गते मुलुकका सबै अदालतमा बिदा दिने निर्णय गरेकाले २८ गतेमात्र अदालत नियमित खुल्ने जनाएको थियो । अन्य घटनामा जस्तै यस घटनामा पनि प्रहरीले थप अनुसन्धान गरी प्रतिवेदन तयार गर्नेछ । उक्त प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरी अदालतमा पेश गर्नेछ ।

घटनाबारे पक्ष विपक्षमा टीका टिप्पणी भएपछि यही असोज महराले असोज १५ गते आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी सभामुख पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

सोही दिन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेको आदेशमा संसद् सचिवालयले सूचना टाँस गरी राजीनामा बारे जानकारी दिएको थियो । प्रतिनिधिसभा नियमावली, २०७५ को २११ अनुसार त्यसरी राजीनामा दिएको सूचना टाँस गरेपछि पद रिक्त भएको मानिनेछ । उनले सांसद पदबाट भने राजीनामा दिएका थिएनन् । प्रहरीले अदालतमा मुद्दा दायर गरेमा सांसद पद निलम्बित हुनेछ ।

प्रहरीले महरा विरूद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा दायर गर्ने छ । मुद्दा दायर गर्नका लागि प्रहरीले आवश्यकता भएमा अनुमति पनि लिने छ । महरा विरूद्ध पीडितले बलात्कारको प्रयास गरेको आरोप  जाहेरीमा लगाएकी छन् । बलात्कारको प्रयास वा बलात्कार कुन आधारमा मुद्दा दायर गर्ने भन्ने बारेमा महराको र पीडित दुवैको बयानपछि निर्णय हुने छ ।

जिल्ला सरकारी वकिलको संलग्नतामा हुने अनुसन्धानमा दुवैको बयान बलात्कारको प्रयास देखिएमा सोही अनुसार महरा विरूद्ध मुद्दा दायर हुने छ । बलात्कार भएको बयान पीडित रोशनी शाहीले दिएमा प्रहरीले उनी विरूद्ध बलात्कारको मुद्दा दायर गर्ने छ ।  

बलात्कार र कुटपीट मुद्धा दायर भए सजाय के हुन्छ ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणी सम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ । सो परिच्छेदको दफा २१९ मा ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी’ सजाय तोकिनेछ । सो दफाको उपदफा २ (ङ) मा ‘अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म’ सजाय हुने व्यवस्था छ । उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ भनिएको छ ।

  1. मुलुकी फौजदारी संहिताको दफा  २२४ अनुसार उनीमाथि बलात्कारको प्रयासमा तीन वर्ष कैद ३० हजार जरिवाना हुन सक्नेछ ।
  2. बलात्कार गरेको ठहर भएमा ११ वर्ष कैद, संहिताको २१९ ले जवरजस्ती करणी र २२२ ले विशिष्ट पदमा रहेको र आफ्नै कार्यालयमा कार्यरत भएकाले थप सजाय हुने कुरा गर्दछ ।
  3. यसरी हेर्दा महरा दोषी ठहर भएका १३ वर्षसम्मको कैद सजाय हुने देखिन्छ ।
  4. महरामाथि शाहीले कुटपीट गरेको आरोप समेत लगाएकी थिइन् । मुलुकी अपराध संहिताको परिच्छेद १४ को आरोपमा महरामाथि अनुसन्धान हुने छ । कुटपीट र अङग भङ्ग बनाएको आरोपमा उनीमाथि थप सजाय हुने छ । कुटपीटको अभियोगमा पीडितमाथि पुगेको क्षतिको आधारमा सजाय निर्धारण हुने छ ।

गाउँ सहर डेस्क

तपाईँको मत