शिक्षा

लिफ्ट हेरेर छोराछोरी पढाउने कि ‘गुणस्तरीय शिक्षा?’

काठमाडौँ । भर्खरै एसईईको रिजल्ट आएको छ । गाउँ सहरका सञ्चार माध्यमहरु, ब्रोचर, पम्प्लेट, भिजिटिङ्ग कार्ड, सामाजिक सञ्जालमा थरीथरीका विज्ञापनले यथेष्ट स्थान पाएका छन्—प्लस टु कलेजका । करोडौँको व्यापार जमेको छ संस्थाहरुको । मौसमपनि यहि नै हो उनीहरुको । त्यहि भएर दत्तचित्त छन उनीहरु अनि भ्याइनभ्याई विद्यार्थी र अभिभावकहरु ।

काठमाडौँ मूलपानीका आर सी न्यौपाने एसईई पास गरेकी भान्जीलाई भर्ना गर्न काठमाडौँका विभिन्न कलेज दिदीलाई लिएर हिँडेका छन् । उनलाई कमलपोखरीको यूनिग्लोव कलेजले महिनाको १४ हजारमा पढाउने भनेछ । उनलाई सत्कारपनि राम्रै गरेको रहेछ, ट्याङ्ग जूस ख्वाएर । महिनाको १४ हजार भनेको वर्षको १ लाख ६८ हजार हो । निर्णय नगरेर उनी त्यो दिन फर्के । अर्को कलेज चहार्न व्यस्त छन उनी ।

यस्तै कलेज खाेज्नेमा देवी भट्टचन पनि अर्का अभिभावक हुन् । उनलाई सबैकुरा थाहा पनि छ तर उनको छोराले मानेन भन्दै बानेश्वर के एण्ड के र प्रिमियर कलेज पुगेर फर्किए । ति कलेज सरल र सहज थिए । लगभग बढीमा वर्षको के एण्ड के ले ३० हजारमा व्यवस्थापन विषय पढाउँदाे रहेछ, उनले भने । ‘छोराको ढिप्पीलाई अन्त्य गर्न फेरी अर्कोठाउँ पनि जानुछ । तर मेरो रोजाइमा पैसा बढी तिर्नेभन्दा गुणस्तरीय शिक्षा र वातावरण दिनेमै केन्द्रित रहने छ ।’ उनले गाउँ सहर टिमलाई भने ।

पेप्सीकोलाका भूपाल निरौलापनि यसपटक चिन्तित बनेका छन् । छोरीको इच्छा भन्दापनि आफूपनि उही क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले उनले नजिकैको कलेजमा छोरीको भर्ना गर्ने निर्णय नै गरिसके ।

तर पर्वतका दिलकुमार सापकोटाले भने एकपटक प्रसादी र सेन्ट जेभियर्समा इन्ट्रान्स दिने र नभएमा मात्र अरुमा छोराको भर्ना गर्ने बताउँछन् । आफ्नो छोरालाई हातमा समाएर शिक्षान्तर छिरेकी उमा शिवाकोटीले भने भर्ना गरेरै निस्किइन् । उनले हामीसँग भनिन्, ‘जे खोजेर यहाँ आइएको थियो, प्राप्त गर्यौँ र खुसी भएर विवेकपूर्ण रकममा भर्ना गरें । आशा छ मैले सोचेको संस्थाबाट प्राप्त हुन्छ । मेरो छोराले सिक्नुपर्ने कुरा सिक्छ ।’

यी घटना प्रत्यक्ष घटित हुन, अहिले । हरेक विद्यार्थी र अभिभावकको चिन्ताको विषय छ प्लस टु को भर्ना । धेरैलाई अझै भ्रम छ, लिफ्ट, सवारी साधन, सुविधाजनक क्याफेटेरिया, स्मोकिङ्ग जोन, फ्रि वाइफाई, अनेक सुविधा दिन्छन भनेर । कतिपय प्रचार गर्नुनपर्ने शिर्षकलाई पनि कलेज प्रवध्र्वनकर्ता बजारीकरणमा छन् । अनि त्यसैको पछि लागेका अभिभावक र विद्यार्थी कुनै न कुनै प्रलोभनमा फँसेका पनि छन् । तालूकदार निकायपनि कानमा तेल हालेर बसेकाे छ ।

प्रा.डा. प्रदीपकुमार खड्काले भने देखावटी प्रलोभन भन्दापनि विद्यार्थीले पाउनुपर्ने गुणस्तरीय शिक्षा प्रमुख कुरा भएको बताउँछन् । उनी भन्छन्, ‘गच्छेअनुसारको स्थान र नजिक रहेको संस्थामा अध्ययन अध्यापन गराउनु हाम्रो दायित्व हो । अनेक भड्कावमा लाग्नु आवश्यक छैन ।’

धेरै प्लस टु कलेजले त हतारको सुरमा धेरैलाई सहि रकम र सुविधाको जानकारी दिएको पाईंदैन र पछि मात्र थाहा हुन्छ । अनि कलेज प्रशासन—अभिभावक—विद्यार्थीबीचमा मनमुटाव सुरु हुन थाल्छ । यसकारण प्रष्ट जानकारी पहिल्यै नै दिनु कलेज प्रशासनको प्रमुख कर्तव्य हो । सबै हतारोमा, कसैले सहि सूचना दिन सकिरहेका देखिँदैनन् । केही कमले यो नियमको पालना गरेका छन्, जसकोमा विद्यार्थी संख्या नै न्यून छ ।

धेरै विद्यार्थी संकलन व्यापारिक दृष्टिकोणले राम्रो होला, भन्नलाई पैसाले गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पुग्ने पनि बताइएला । तर त्यो मात्र होइन किनकी जनसंख्या बढी हुँदैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने छैन । तपाईंलाई थाहै होला, धेरै जनसँख्या हुँदा के हुन्छ ? ‘अभाव—अस्तव्यस्तता ।’ विद्यार्थी संख्या अनुसारको पूर्वाधार एकैपटक नहुँदा झन अधिक समस्याहरु उब्जिएका हाम्रै आँखा अगाडि छन् ।

तसर्थ, हतारमा निर्णय गरेर पछुताउनु भन्दा, महँगो पैसा खर्च गरेर गुणस्तरीय शिक्षा प्राप्त हुन्छ भन्नेजस्ता भ्रममा नलाग्नु नै बुद्धिमानी हुन्छ । ११ र १२ कक्षा भनेको प्राथमिक अवस्था हो विद्यार्थीको लागि । यो चरणमा विद्यार्थीको होस गुमेपनि अभिभावकले कदापी गुमाउनु हुन्न ।

नआत्तिनुहोस, नमात्तिनुहोस, सजग भएर सबैकुरा मनन गरेर तपाईंको छोराछोरीलाई संस्कार सहितको ज्ञान बाँढ्ने संस्थामा भर्ना गर्नुहोस् । हामी यत्ती भन्छौँ तपाईंलाई ।
 

गाउँ सहर डेस्क

तपाईँको मत