कृषि

कालीमार्सी धानः काश्मीरबाट बीउ ल्याई खेती विस्तार गरेको इतिहास

जुम्ला । जुम्ली कालीमार्सी धानको उत्पत्ति १२औँ शताब्दीमा भएको उल्लेख छ । किंवदन्तीअनुसार सुरुमा जुम्लामा कुनै पनि धान पाकेन । सन् १३०० मा गुरु चन्दननाथ स्वामीले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालीम दिई धान खेती विस्तार गरेको इतिहास छ ।

मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर सुरुमा लाछु जिउरो (तातोपानी नजिकको गाउ) भन्ने ठाउमा रोपेका र पछि अरूहरूले पनि यसैगरी रोप्दै जाँदा मार्सी धान यहाँ फैलिएको हो भन्ने भनाइ पनि रहेको छ ।

अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा ‘सिक’ दिने प्रचलन छ । मार्सी धानखेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो ।

जङ्गली धान भएकाले काली मार्सी भनिएको हाे । जुम्लामा धानखेती बेँसीक्षेत्र (समुद्र सतहबाट दुई हजारदेखि दुई हजार २०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट दुई हजार ८०० देखि तीन हजार मिटर) मा हुने गरेको छ ।

धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने १५० देखि १६५ दिन हो, असारमा धान रोपे कात्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान रोप्ने चलन छ ।

 विश्वकै अग्लो स्थान समुद्री सतहदेखि दुई हजार ७९० मिटर उचाइकमा रहेको जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषक लागिपरेका छन् । बजारमा मार्सीको माग बढ्दो छ । तर ‘ब्लास्ट’ रोगको सङ्क्रमण र असिनापानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ । 

जिल्लाको एक हजार ३०० हेक्टरमा मार्सी खेती हुँदै आएको छ । यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ । पातारासी गाँउपालिकाको छुमचौर ज्युलोबाहेक अन्य गाउँका नागरिकले करीब एक दशकअघिदेखि मार्सी रोप्न छाडेका छन् । 

याे सीमित मात्रामा उत्पादित हुने स्थानीय जात जुम्लाको हावापानिमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगत्सम्म पुगेको छ ।

राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाक चलान गरी काठमाडौंसम्म आउने गरेको कुरा सुन्न पाइन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ ।

जुम्लाको सदरमुकाम खलङ्गा वरपर र सिञ्जा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेक सालको चैत १२ गते हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र यही दिन एउटा तामाको खड्कुलो वा हुड्डीमा धान भिजाएर घरको कुनै ठाउँमा यसलाई सुरक्षित राखिन्छ ।

चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरुवा वा लिउ (उनको कपडा विशेष) मा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ ।

त्यो रासलाई तातोस् भनेर सल्लाको झाँपो तथा कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ ।  यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ ।

जुम्ला लगायतको उच्च भूभागमा झण्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो, मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो र यो पौष्टिकताले भरिपूर्ण मानिन्छ । अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । बीउ राखेको समयदेखि गणना गर्ने हो । असारमा धान रोपे पाक्दैन, त्यसैले कात्तिकसम्म पाक्न परम्परादेखि जेठमै धान रोप्ने चलन छ । किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्याउन सक्छन् । यो धानको चामलमा फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि यो उपयोगी मानिन्छ ।

आइरन, स्टार्च लगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ । स्वादका हिसावले पनि स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मानिने गरिन्छ। यसको भात ढिँडोजस्तै आडिलो खान्कीमा गनिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत