विश्व

८९ यात्रु बाेकेकाे विमानको अगाडिको चक्का नखुलेपछि...

  • एजेन्सी
  • ३० बैशाख सोमबार, २०७६ | ०९:५९:०० मा प्रकाशित

म्यानमारमा ८९ यात्रु सवार यात्रुवाहक जेट विमानकाे अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन् ।

म्यानमार न्याश्नल एअरलाइन्सको इम्ब्राअर १९० मोडलको उक्त विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो ।

म्यानमार न्याश्नल एअरलाइन्सका अनुसार विमान अवतरण गर्नुअघि एअर ट्राफिक कन्ट्रोलरहरूले विमानको चक्का खुले-नखुलेको ठम्याउन सकून् भनेर क्याप्टेन म्यान मो अङले विमानस्थलमाथि विमानलाई दुई फन्को घुमाएका थिए । विमानलाई कुशलतापूर्वक अवतरण गराएकोमा विमानचालकको प्रशंसा गरिएको छ।

विमानसेवाको भनाइ अनुसार याङ्गुनबाट म्यान्डलेका लागि उडेको उक्त विमानमा अवतरणको बेला त्यस्तो समस्या देखिएको थियो । तर विमानचालकले आपत्कालीन प्रक्रिया पूरा गरेर विमानको तौल घटाउनलाई धेरै इन्धनलाई आकाशमै खपत गराएका थिए ।

विमान अवतरण गर्दा खिचिएको भिडियाेमा विमानले अगाडिको भागले भुइँ छुनुअघि पछाडिको चक्कामा भर परेको देखिएको छ। विमान पूरै रोकिनुअघि धावनमार्गमा २५ सेकेन्ड घिस्रिएको थियो ।

 

एजेन्सी

तपाईँको मत