विश्व

श्रीलङ्कामा अनुहार छोप्ने पहिरन लगाउन प्रतिबन्ध

  • एजेन्सी
  • १६ बैशाख सोमबार, २०७६ | ०८:४१:०० मा प्रकाशित

श्रीलङ्का । श्रीलङ्का सरकारले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ ।

गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा अढाई सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हाे । सोमवारदेखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित रहेको देखिएको छ।

निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन् । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्। घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा 'निकाबु बारे प्रस्ट उल्लेख छैन । तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ ।

श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन् । तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको बताइन्छ ।

शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो ।


इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो । ती घटनामा परी कम्तीमा दुई सय ५० जनाको ज्यान गएको थियो।

 

एजेन्सी

तपाईँको मत