निर्माण

बिनाशकारी भूकम्पको ४ वर्षः ‘करिब आधामा मल्हम’

निजी घर ५०, विद्यालय ५९, स्वास्थ्य संस्था ५४, सुरक्षा निकाय भवन ३८ प्रतिशत पुनर्निर्माण सम्पन्न

काठमाडौँ । विसं २०७२ को महाभूकम्प विसं २०७२ बैशाख १२ गते शनिबार नेपाली समयानुसार ११ बजेर ५६ मिनेट (६:११:२६ युटिसी) मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बारपाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको बिनाशकारी १५ किमी (९.३ माइल) गहिराईमा गएको थियो । विसं १९९० को महाभूकम्प पछिको त्यो सबैभन्दा ठूलो भूकम्प थियो । 

४३ सेकेन्डको त्यो बिनाशकारी कम्पनले ८ हजार ७ सय ९२ जनाको ज्यान लियो । २२ हजार ३ सय ११ जनालाई घाइते बनायो । यसरी नै २ हजार ६ सय ५६ सरकारी घरहरू पूर्णरुपमा ध्वस्त भएभने ३ हजार ६ सय २२ घरमा आंशिक क्षति पुर्यायो । यस्तै निजी ५ लाख ८८ हजार ७४ घरहरू पूर्णतया भत्किए । शक्तिशाली भूकम्प साथै लगातारको पराकम्पनहरूले करिब ७ लाख थप गरिबहरू थपिदियो, जसलाई चाहेरैपनि नेपालीले बिर्सन सकिँदैन । अहिलेसम्म पनि सोही भूकम्पका परकम्पहरु आइनै रहेका छन् । ४ रेक्टरभन्दा माथिका परकम्पहरुनै करिब ५ सयको हाराहारीमा पुगेका छन, सो भन्दा साना त गणना बाहिर छन्  ।

सो भूकम्पले नेपालसँगै रहेका भरत, चीन र बंगलादेशमा पनि कयौँ  मानिस हताहात भएका थिए । भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए, जुन पूनर्निर्माणकै अवस्थामा छन् । धरहरादेखि बसन्तपुर दरबार सबैमा असर पुगेको थियो । 

थाङ्थिलो भएको देशका संरचनामा करिब ४ वर्ष बित्दापनि पूनर्निर्माणका प्याकेजहरूलाई पूर्णता दिन सकिएको छैन । किलादेखि त्रिपालसम्म राजनीतिमा धेरै समय बितायौँ । विपतलाई निजी अवसरको गलत अभ्यास गर्नपनि पछि परेनौँ । यहिकारण पीडितले समयमा राहत नपाएको गूनासाले अझैपनि सबैको मनमा न्याय दिन सकेको छैन । झरी, जाडो र गर्मी यो चार वर्षमा ५० प्रतिशतमा मात्र पुगेको छ पूनर्निर्माण प्राधिकरण खोलियो तर समयमै काम गर्न सकेनन्, नियुक्ती र बर्खास्ती चलिरह्यो, सरकारै पिच्छेका । अहिले केही कामहरु द्रुत गतिमा बनेका छन् । यसरी नै अगाडि पनि भैदिएको भए आज सतप्रतिशत निर्माण सकिसक्थ्यो । उबेला दाताले उल्लेख्य रकम त कोबल गरे तर भनेजस्तो संकलन नभएको सरकारले बतायो । दिएको पनि खर्चगर्न भागबण्डा चुचुरो बन्यो । 

सरकारले विसं २०७२ असार १० मा दाताहरु बोलाएर ‘नेपालको पूनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरेको थियो । सम्मेलनमा २३ बहुपक्षीय, ४० द्विपक्षीय, ‘एजेन्सी’ र व्यक्तिगत गरी २५० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा द्विपक्षीयरबहुपक्षीय साझेदार तथा दातृ निकायबाट रु चार खर्ब ४० अर्बको सहायता उपलब्ध गराइने प्रारम्भिक प्रतिबद्धता प्राप्त भएको थियो । तर, सम्मेलनमा व्यक्त प्रतिबद्धतामध्ये करीब रु ३ खर्ब ४३ अर्ब २१ करोड ९२ लाख ९१ हजार ५०० मात्र वास्तविकतामा देखियो । त्यसमध्ये पनि रु दुई खर्ब ४९ अर्ब ९४ करोड चार लाख ३८ हजार २०० को मात्र परियोजना सम्झौता हुनसक्यो । 

भूकम्पपछिको आवश्यकता आकलन प्रतिवेदन (पिडिएन) अनुसार भूकम्पबाट चार लाख ९८ हजार ८५२, निजी घर र दुई हजार ६५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए । त्यस्तै, दुई लाख ५६ हजार ६९७ निजी घर र तीन हजार ६२२ सरकारी भवन आंशिक रुपमा क्षति भएका थिए । त्यस अतिरिक्त १९ हजार कक्षा कोठा ध्वस्त र एक हजार १०० कक्षा कोठा क्षतिग्रस्त भएका थिए । भूकम्पमा परी आठ हजार ९७९ जनाको ज्यान गयो भने २२ हजार ३०९ जना घाइते भए । भूकम्प र परकम्पबाट ३१ जिल्लामा अथाह धनजनको क्षति भएको थियो । क्षतिकाे तथ्यांकमा पछि थप भएकाे पनि थियाे ।

बैशाख १२ को भूकम्प आएको ४ वर्ष भएपनि पुनर्निर्माणका ४० महिनामा पुनर्निर्माण प्राधिकरणले दिएको तथ्याँकअनुसार निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको उल्लेख छ । अर्थात अनुदान सम्झौता गरेका ७,६२,३०७ घर परिवार मध्ये ६,१२,९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको बताइएको छ । जसमध्ये ५० प्रतिशत अर्थात ३,८२,२७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकेको र ३० प्रतिशत अर्थात २,३०,६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ । 

भूकम्पबाट ७,५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरेको प्राधिकरणको तथ्यांक छ । जसमा ५९ प्रतिशत अर्थात ४,४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १,७७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् । 

यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी, जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न गरेका र १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् । 

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धी हासिल गरेको प्राधिकरणको आंकडा छ । जसमा २२४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । 

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१  वटा भवन पुनर्निर्माणको क्रममा छन् । यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी गरेको, जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको बताएको छ । 

भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको पनि पुनर्निर्माण गर्ने/गराउने कार्य भैरहेको पनि प्राधिकरणले बताएको छ । तर, प्रधिकरणमा घुसेकाे राजनीतिले भवन निर्माणकाे गतिले सतप्रतिशत प्रगति हासिल गर्नसक्नुपर्नेमा साे देखिएन । प्राविधिक तथा अन्य कामकाे मेल हुन नसक्दा अहिलेसम्म लगभग ५० प्रतिशतकाे हाराहारीमा मात्र पुनर्निर्माण गर्न सकेका छाैँ ।

बारपाक लगभग उठिसकेकाे छ, जुन ७.८ रेक्टरकाे केन्द्र थियाे । अपेक्षा गराैँ चाँडै सम्पूर्ण पुनर्निर्माण पूरा हुनेछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत