गाउँ सहर

‘तर, हामी सजग थियाैँ, छाैँ र हुनेछाैँ, यसरी बनायाैँ हेलिकप्टर दुर्घटनाकाे समाचार’

शोकमा देश, ब्रेकिङ्ग न्यूजमा नसुध्रिएका हामी

काठमाडौँ । बुधबार नेपाली आकाशमा अर्को दुर्घटना भयो । सवार ७ जना छोराहरुले ज्यान गुमाउनुपर्यो । बिहिबार सरकारले शोक विदा गरेको छ । घटनाले चोट पुर्याएको मन अहिलेसम्म तंग्रन सकेको छैन ।

एअर डाइनेस्टीको एएस ३५० हेलिकप्टर बुधबार मध्यान्ह साढे एक बजे ताप्लेजुङको सिस्नेमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । 

हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीसहित पर्यटन व्यवसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

मौसम खराबीको कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ । विमानस्थल महाप्रबन्धक राजकुमार क्षत्रीले हेलिकप्टर दुर्घटना हुनाको कारण मौसमको खराबी भएको बताएका थिए । 

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो । 

दुःखद समाचारहरु आउन थालेपछि नै कसैको आँखा नरासाएका सायदै थिएन होला । यसबीचमा असंवेदनहिन र अमानवीय शब्दहरुपनि देखिए, जसको जति कुरा चल्छ उत्तिनै चिथोरौँ जस्तो हुन्छ । कसैलेपनि तिनलाई सायदै माफी देलान् !

घटना घट्यो, ब्रेकिङ्ग न्यूजहरु आउन थाले हिजोपनि । उद्धारकार्यमा स्थानीय पुग्न ४५ मिनेट लागेपनि अल्पसूचनाका आधारमा समाचारहरु आउन थालिहाले । समाचार आइरह्ये तर नाम र फोटाहरु नै गलत छापेर यसपटक पनि जनतालाई ताता तर झुटा समाचारको खेति गरे अनलाईन मिडियाहरुले । हामी जनता फेरी त्यहि न्यूज खोतली-खोतली हेरिरह्यौँ ।

अनलाईन समाचारहरु छिटा भएपनि अधिकांशत समाचार प्रदाय संस्थाहरु कपीपेस्टमा चल्ने देखिएकाले पनि एउटाले गरेको गल्तिलाई अरु त्यस्ता पछ्याउनेले साभार गर्दै गए । मान्छेलाई पेजमा इन्गेज गराउनलाई भ्रामक नाम र फोटोको सम्म प्रयोग गरे । सूचना स्पष्ट नभई समाचार बनाउने र जनतालाई भ्रमित पुर्याएको घटनाले धेरै पत्रकारहरुको रुवावासी पनि छ बजारमा । यसपटकको गल्ति कसले किन गर्यो यसको पनि छानविन गर्ने की !

यस्तै हावादारी र अनुमानकारी मिडियाकै कारण पेशाप्रति न जनताको विश्वास बढेको छ न विज्ञापनदाताको ! यति भएरपनि पाठकको रोजाई तिनै मिडिया र उनै समाचारमा पर्नु अनि विज्ञापनदाताको नजरमा उनी नै महान बन्नु र विज्ञापन दिनुले नेपाली पत्रकारिता, पाठक र दाताको स्तर निर्धारण गर्नेपर्ने देखिएको छ । अथवा पाठक हामीले नचाहेरै भएपनि उनै समाचारहरुमा विश्वास गर्नुपर्ने वातावरणको अब अन्त्य हुनैपर्छ ।

हेलिकप्टर दुर्घटनाको समाचार आएपछि देश स्तब्ध बनेको थियो । बनिबनाउ फोटा र विश्वासिलो स्रोत बेगर नै समाचारहरु बजारमा आइ नै रहे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यही समाचारलाई प्रस्तुत गरिरहेका थिए । देश तथा विदेशका सामाजिक सञ्जालमा घटना नहोस भनेर कामना गरिरहेका पनि थिए, पाठक, दर्शक तथा स्रोताहरु ।

मौसम सफा थिएन केही समयदेखि । आजपनि पानी परिनै रहेको छ । देशका अधिकांश स्थानमा परेको अशिना पानी र पहाडि तथा हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । अहिले पनि पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । मौसम सफा नहुँदा नहुँदै हेलिकप्टरको उडानको विषयलाई लिएर देशवासी निराश पनि बनिरहेका छन् । शब्दहरु मनभित्र दविएका छन् । 

सामाजिक सञ्जालहरुमा जनताका दुःख बर्सिइरहेका छन् । मन्त्री अधिकारीका साथी योगेश भट्टराईले २२ घण्टा अगाडि फेसबुकमा लेखेको स्टाटसले सबैको मनमा कौतुहलता र नेपालको हवाई प्रणाली र वेतिथिलाई उजागर गरिदिएको छ । यदी वाध्यता होइन भने यो स्टाटस तपाईं हाम्रो भोलीको यात्राको लागि मार्गदर्शक बन्न सक्छ । स्टाटसमा भनिएको छ, ‘भिआइपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

अर्कोतर्फ दुर्घटना नै हो, नेपाली जनताकै सात छोराले धर्तिबाट विदा लिए । यसमा पदले कोही उच्च त कोही तल्ला कहलिएका थिए होला । तर सबैको मृत्यु भएकै हो भने सबैको सम्मानमा समाचारहरु बन्नुपर्ने हो । तर यहीँ असमान समाचारहरु बनिरह्ये । हेलिकप्टर दुर्घटनामा नेपाली सेनाका जमदार अर्जुन घिमिरे, क्याप्टेन प्रभाकर केसी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीसहित पर्यटन व्यवसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालको ज्यान गएको थियो ।

घटना घटेको खबर जब गाउँ सहर डटकमको डेस्कमा आयो हामी चनाखो बन्यौँ । यसपटक कुनै गल्ति भएपनि औँला उठाउने र अन्यले गरेको गल्तिलाई हामी नपछ्याउने । फोनमार्फत पाँचथर सम्पर्क गरियो । पाँचथरमा रहेका प्रशासकिय प्रमुख कमलप्रसाद भट्टराईसँग सम्पर्क भयो । तत्पश्चाच ताप्लेजुङका सिडियो अनुज भण्डारीसँग सम्पर्क गर्यौँ । उनले करिब ३ घण्टापश्चात घटनाको सम्पूर्ण जानकारी प्राप्त गराउन सक्ने बताए । भौगोलिक विकटताको कारण घटनास्थलमा नपुगि सबैकुरा नगर्ने उनको कुरालाई हामीले सहजै स्वीकार्यौँ । हामी निरन्तर अन्य व्यक्तिहरुसँग सम्पर्कमा रहने प्रयास गरिनै रह्यौँ ।

फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलको नम्बरमा सम्पर्क हुन सकेन । त्यसपछि हामीले स्थानीय नेतृत्व बम बहादुर भट्टराई (तारा) मार्फत जिल्ला होटल व्यवसायी सचिव रतन कार्कीसँग सम्पर्क पश्चात दुर्घटनास्थलको समाचारलाई आधिकारिकता प्रदान गर्दै समाचार बनायौँ । उनीबाटै थाहा पाएका थियौँ मन्त्री रवीन्द्रप्रसाद अधिकारीको अनुहार मात्र चिनिने थियो भनेर ।

तर, यसबिचमा आएका समाचारहरु आफ्नो साइटको ट्राफिक वृद्धिमा मात्र लागिपरेका देखिन्थे । उनैलाई हामी भन्न चाहन्छौँ — यहि हो पत्रकारिता ?

नेपालमा हुने हवाइ दुर्घटनामा भौगोलिक, मानवीय तथा प्राविधिक गरी तीनवटा मुख्य कारण रहेको विज्ञहरुले बताउँदै आएका छन् । तीन कारणमध्ये सबैभन्दा बढी मानवीय त्रुटीले हवाइ दुर्घटना हुने गरेको दुर्घटनाका अध्ययन प्रतिवेदनहरु बताउँछन् । नेपालमा भएका ७३ दुर्घटनामा झण्डै आठ सयको मृत्यु भएको तथ्यांकले देखाएको छ । 

तसर्थ, अब सुध्रने की !
 

गाउँ सहर डेस्क

तपाईँको मत