गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ११ असोज आइतबार, २०८३ | १४:५२:०० मा प्रकाशित
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोले गण्डकी प्रदेशसहित देशका विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । बाढीले स्याङ्जा–गुल्मी जोड्ने मोटरेबल पुल बगाएको छ भने सडक अवरुद्ध हुनुका साथै बस्तीहरू डुबान र कटानमा परेका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने पक्की पुल कालीगण्डकीको बाढीले बगाएको हो । सेतीवेणी बजारसमेत डुबानमा परेको छ । मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएपछि विद्युत् उत्पादन बन्द गरिएको छ ।
बेँसीसहर–चामे, जोमसोम–कोरला, पोखरा–बागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलगायत सडक अवरुद्ध भएका छन् । तनहुँको घाँसीकुवामा पहिरो हटाउन नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेको छ । कालीगण्डकी, चेपे खोलालगायत नदी तथा खोलामा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पाल्पामा दुई, बागलुङमा चारको मृत्यु
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । माथागढी–२ का ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट–६ की ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माथागढी–३ मा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।
यता बागलुङको निसीखोला–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको छ ।
तिनाउले छ र कालीगण्डकीले पाँच घर बगायो
रुपन्देहीको बुटवल–११ टपमझुवामा तिनाउ नदीको बाढीले दुई पक्की र चार कच्ची गरी छ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन ।
पर्वतको जलजला–८ फर्से र लस्ती बजारमा कालीगण्डकीको बाढीले पाँच घर बगाएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षासँगै गण्डकीका विभिन्न जिल्लामा बाढी, पहिरो र आकस्मिक डुबानको जोखिम बढेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नदी तथा खोलानजिक नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
- भारी वर्षाको जोखिम : अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिकृया दिनुहोस