गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ११ असोज आइतबार, २०८३ | १४:५२:०० मा प्रकाशित
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोले गण्डकी प्रदेशसहित देशका विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । बाढीले स्याङ्जा–गुल्मी जोड्ने मोटरेबल पुल बगाएको छ भने सडक अवरुद्ध हुनुका साथै बस्तीहरू डुबान र कटानमा परेका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने पक्की पुल कालीगण्डकीको बाढीले बगाएको हो । सेतीवेणी बजारसमेत डुबानमा परेको छ । मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएपछि विद्युत् उत्पादन बन्द गरिएको छ ।
बेँसीसहर–चामे, जोमसोम–कोरला, पोखरा–बागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलगायत सडक अवरुद्ध भएका छन् । तनहुँको घाँसीकुवामा पहिरो हटाउन नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेको छ । कालीगण्डकी, चेपे खोलालगायत नदी तथा खोलामा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पाल्पामा दुई, बागलुङमा चारको मृत्यु
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । माथागढी–२ का ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट–६ की ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माथागढी–३ मा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।
यता बागलुङको निसीखोला–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको छ ।
तिनाउले छ र कालीगण्डकीले पाँच घर बगायो
रुपन्देहीको बुटवल–११ टपमझुवामा तिनाउ नदीको बाढीले दुई पक्की र चार कच्ची गरी छ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन ।
पर्वतको जलजला–८ फर्से र लस्ती बजारमा कालीगण्डकीको बाढीले पाँच घर बगाएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षासँगै गण्डकीका विभिन्न जिल्लामा बाढी, पहिरो र आकस्मिक डुबानको जोखिम बढेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नदी तथा खोलानजिक नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस