अर्थतन्त्र

दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। चालु आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ।

पहिलो दुई महिनामा नेपालले ४ खर्ब १ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३१.५८ प्रतिशत बढी हो। गत वर्षको पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो।

निर्याततर्फ भने अझ उच्च वृद्धि देखिएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६१.८६ प्रतिशत बढी हो। गत वर्षको पहिलो दुई महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

निर्यातमा भएको वृद्धिसँगै कुल वैदेशिक व्यापारमा यसको हिस्सा पनि बढेको छ। गत वर्षको पहिलो दुई महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १६.०२ प्रतिशत पुगेको छ। आयातको हिस्सा भने ८६.५८ प्रतिशतबाट घटेर ८३.९८ प्रतिशतमा झरेको छ।

यद्यपि, आयातको आकार निर्यातको तुलनामा निकै ठूलो रहेकाले व्यापार घाटा भने बढेको छ। समीक्षा अवधिमा नेपालको व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ थियो।

व्यापार घाटा बढे पनि आयात–निर्यात अनुपातमा सुधार आएको छ। गत वर्षको पहिलो दुई महिनामा नेपालले १ रुपैयाँको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ४५ पैसा बराबरको वस्तु आयात गरेको थियो। चालु आर्थिक वर्षमा उक्त अनुपात घटेर ५ रुपैयाँ २४ पैसामा झरेको छ।

यसले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्दै गएको देखाए पनि नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको तथ्याङ्कले देखाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत