गाउँ सहर

शैलुङमा रामेछाप र दाेलखाबीच वनको सीमा विवाद मिल्यो

रामेछाप । शैलुङ क्षेत्रमा लामो समयदेखि कायम रहेको दोलखाको गंगाजमुना सामुदायिक वन र रामेछापको सिद्धिनाथ सामुदायिक वन बीचको सीमा विवाद सहमतिमार्फत समाधान भएको छ।

दुवै सामुदायिक वनबीचको सीमासम्बन्धी विवाद २०६१ सालमा तत्कालीन दुवै जिल्लाका जिल्ला वन प्रमुखहरूको संयुक्त बैठकबाट टुंग्याउने निर्णय भएको भए पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा विवाद कायम रहँदै आएको थियो। यसका कारण दुवै सामुदायिक वनको परिमार्जन प्रक्रिया समेत प्रभावित बनेको थियो।

विवाद समाधानका लागि २०८२ साल पुसदेखि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण संस्थाले सहजीकरण गर्दै आएको थियो। लामो छलफल र सहजीकरणपछि दुवै पक्ष साबिकको मृगस्थली खोला हुँदै कालापानीमाथिको दक्षिणी ओढारसम्मलाई सीमा कायम गर्ने विषयमा सहमत भएका हुन्।

सहमति प्रक्रियामा संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति मुना गुरुङ, क्षेत्रीय संयोजक रीता मानन्धर, शैलुङ गाउँपालिका (दोलखा) का कार्यपालिका सदस्य बन्धना पाख्रिन, सब–डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत दिपेन्द्र चौधरी, रेन्जर दिपेश चौधरी, दोरम्बा सब–डिभिजन वन कार्यालय रामेछापकी रेन्जर अनु राना, दोरम्बा गाउँपालिका–४ का वडाध्यक्ष श्याम घिसिङ, शैलुङ होमस्टे तथा पर्यटन विकास समितिका अध्यक्ष दावा साङ्बु शेर्पा, सिद्धिनाथ सामुदायिक वनका अध्यक्ष प्रेम थापा मगर, गंगाजमुना सामुदायिक वनका अध्यक्ष फुर्वा तामाङ लगायत पूर्व पदाधिकारी, समाजसेवी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो।

लामो समयदेखि कायम रहेको विवाद सहमतिमार्फत टुंगिएसँगै दुवै सामुदायिक वनको व्यवस्थापन, संरक्षण तथा परिमार्जन प्रक्रिया अघि बढ्ने विश्वास गरिएको छ। साथै, यस सहमतिले स्थानीय स्तरमा देखिएको विवाद अन्त्य गर्दै शैलुङ क्षेत्रको संरक्षण, पर्यटन प्रवर्द्धन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत