लघुकथा : अदृश्य धागो
- नन्दलाल आचार्य
- २६ कार्तिक बिहीबार, २०८३ | १२:०६:०० मा प्रकाशित
“यो प्वाल कसले पार्यो हँ ?”
विवाहको रजत जयन्तीको रमझमबीच सुनिताले पतिको नयाँ सर्टको कलर देखाउँदै सोधिन् ।
“सानै छ नि ! यत्तिकै लगाउँछु,” रमेशले बेवास्ता गरे ।
“कपडाको प्वाल सानै छ । तर वर्षौँदेखि उपेक्षित हाम्रो सम्बन्धको प्वाल कति ठूलो छ, कहिल्यै देख्नुभो ?”
सुनिताको प्रश्नले कोठाको रौनक केही चिसियो ।
रमेश स्तब्ध भए । पच्चीस वर्षदेखि उनले पत्नीलाई घरको जिम्मेवारी र शरीरमा सीमित गरेका थिए । उनको थकान पढेनन्, भावनाको कदर गरेनन् । ओछ्यानमा अधिकार खोजे, मनमा कहिल्यै प्रवेश गरेनन् ।
त्यस रात सुनिताले उनका हात पन्छाउँदै भनिन्, “अधिकार थोपर्नेले प्रेमको मर्म बुझ्दैन ।”
सियो र धागोले उनले सर्टको प्वाल टालिन् । ऐनामा आफ्नै अनुहार हेरिन् । मनको अदृश्य प्वाल टाल्ने सियो कतै देखिनन् ।
ढोकातिर बढेका रमेश रोकिए । पहिलोपटक उनले पत्नीको अनुहारमा मौन पीडा पढे । अहङ्कारको पर्खाल भत्काउँदै नजिकिए । सुनितालाई अङ्कमाल गरे ।
“कपडाको प्वाल सियोले टालिन्छ, प्रिय ! मनको प्वाल टाल्न भने अहङ्कार होइन, आत्मीयता चाहिने रहेछ।”
सुनिताका आँखामा आँसु टिलपिलाए । तर मनको प्वाल साँच्चै टालियो कि टालिएन, त्यो धागोले मात्र बताउन सक्थ्यो ।
प्रतिकृया दिनुहोस