शिक्षा

रत्नशोभा माविले मनायो ६७ औं वार्षिकोत्सव 

पाेखरा । पोखरा महानगरपालिका वडा नंं २८ माझठानामा रहेको रत्नशोभा माविले शुक्रबार ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न  गरेको  छ ।

कार्यक्रममा  वडा नं. २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले शिक्षालाई प्रविधिमैत्री बनाउँदै सीपसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । वडा अध्यक्ष लामिछानेले शिक्षा मात्र नभई विकास निर्माणका पूर्वाधारमा समेत वडा कार्यालयले प्राथमिकता दिएको दाबी गर्दै बजेट विनियोजन भए पनि उपभोक्ताको जागरुकताको अभावले कतिपय योजना कार्यान्वयनमा समस्या भएको गुनासो गरे  । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना, पूर्व अध्यक्ष सूर्य प्रकास तिवारी, निवर्तमान प्रधानाध्यापक किरणबाबु न्यौपाने, भूतपूर्व विद्यार्थी एसोसियसनका अध्यक्ष कालिप्रसाद भूर्तेल लगायतले विद्यालयकाे विकासका लागि सबै एकजुट भएर साझा अवधारणा बनाएर जानुपर्नेमा जोड दिए । 

 अक्षयकोष दाता विजयराज भण्डारीले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको हौसला स्वरुप पुस्तकालय अक्षयकोषको स्थापना गरेको जानकारी गराउँदै आगामी दिनमा यस विद्यालयको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग जारी राख्ने बताउनु भयो ।  यसै गरी पूर्व शिक्षक श्याम बहादुर केसीले यस विद्यालयको विकासका लागि सरोकारवाला सबैको सकारात्मक धारणा हुनुपर्नेमा जोड दिंदै बालबालिकाको दिर्घकालिन भविष्यको बारेमा सोच्न अभिभावकलाई आग्रह गरे।  

शिक्षक पूर्ण बहादुर खत्री र विद्यार्थी स्मृती बुढाथोकीले स्वागत गरेको  कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले विद्यालयको प्रगति विवरण एवम् भावी योजना प्रस्तुत गरे भने शिक्षक अभिभावक संघका अध्यक्ष मंगल बहादुर नेपालीले धन्यवाद ज्ञापन गरेका थिए ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक ऋषिराम रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा शैक्षिक पुरस्कार, अक्षयकोष पुरस्कार वितरण गरिएको थियो भने सरुवा भएर जानु भएका निवर्तमान प्रधानाध्यापक किरण बाबु न्यौपाने र शिक्षक भेषराज सुवेदीलाई कदरपत्रद्धारा सम्मन गरिएको थियो । सोही अवसरमा विद्यालयको बृहत्तर विकासका लागि आर्थिक सहयोग गर्ने समाजसेवी, उत्कृष्ट शिक्षक , कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।  विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुती गरेको कुरा विद्यालयका सूचना अधिकारी गोपी माया गुरुङले जानकारी दिइन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत