गाउँ सहर

के एण्ड के कलेज बन्यो विचारको केन्द्र: सांसद पुकार बमलाई विज्ञहरूको सुझाव

काठमाडाैं । फागुन २१ गते सम्पन्न निर्वाचनमा विजयी भएपछि आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन व्यस्त रहेका सांसद पुकार बमका लागि मंगलबार (चैत्र १०) विशेष दिन बन्यो। पुख्यौली थलो कैलालीदेखि अभियानका सहयात्री, शुभेच्छुक, युवाजमातदेखि आफ्नै कर्मक्षेत्र शिक्षण पेशाका सहकर्मी, गुरु र विद्यार्थीहरूले विभिन्न माध्यमबाट दिएको बधाई, शुभकामना र सुझावले उनको दिन भावुक, आशावादी र भरोसापूर्ण बनाएको थियो।

नेपालको सामाजिक, राजनीतिक तथा वैकल्पिक आन्दोलनका एक प्रमुख अभियन्ताका रूपमा परिचित बमले २९ हजार १४२ मत प्राप्त गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित भएका हुन्। झण्डै दुई दशकदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय उनी प्राध्यापन पेशामा पनि उत्तिकै समर्पित रहँदै आएका छन्।

काठमाडौंको नयाँ बानेश्वरस्थित के एण्ड के कलेज मा सोसल वर्क एण्ड डेभलप्मेन्ट विभागीय प्रमुख तथा शिक्षकसमेत रहेका बमलाई कलेजद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम विशेष रह्यो। कार्यक्रममा उपस्थित प्राध्यापक, उपप्राध्यापक तथा विद्वत् वर्गले दिएको सुझाव र अनुभवले उनको आगामी राजनीतिक यात्रालाई अझ स्पष्ट दिशा दिने विश्वास गरिएको छ।

शुभकामना ग्रहण गर्दै केही भावुक बनेका बमले के एण्ड के कलेजलाई आफ्नो “दोस्रो घर” भएको उल्लेख गर्दै जीवनका धेरै उपयोगी पाठ यहीँबाट सिकेको बताए। “म आफ्नो धरातल कहिल्यै बिर्सने छैन र यहाँबाट सिकेका ज्ञान र मूल्यलाई राजनीतिमा पनि सदुपयोग गर्नेछु,” उनले प्रतिबद्धता व्यक्त गरे।

पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. रघुबीर विष्टले भने, “नेतृत्वलाई केही गरेर देखाउन अवसर दिइएको हुन्छ। अहिले रास्वपा सरकार र पुकार बमलाई पनि त्यही अवसर आएको छ। त्यसलाई नीतिगत तहमा बसेर दीर्घकालीन फाइदा पुग्ने गरी नीतिगत बहस र कानून निर्माण गर्नुपर्छ। नागरिकको मनोविज्ञान बुझेर तत्काल गर्नुपर्ने काम र दीर्घकालीन नीतिगत कामलाई छुट्याएर अघि बढ्न सके मात्रै वैकल्पिक रूपमा उदाएको रास्वपाको जनमत जोगिन सक्छ। अहिले नेपाली राजनीतिको मूलधारको मियो भएकाले देशभित्रका दैनिक समस्यादेखि विश्व भू–राजनीतिसम्म जटिल अवस्था छ, त्यसैले सचेत भएर जिम्मेवारी निर्वाह गर्नुपर्छ।”

प्राध्यापकले थपे, “यतिबेला ठूलो संख्यामा रास्वपाका सांसद भए पनि पुकार बमजस्ता सडकदेखि नेपाली राजनीतिको बेथिति र विश्व राजनीतिसम्म बुझेका व्यक्तिले अग्रसर भएर सही दिशामा नेतृत्व गर्नुपर्छ।”

कोटेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक रुद्रप्रसाद भट्टराईले भने, “अहिलेको सरकारले धेरै ठूला–ठूला सपना देखाउनेभन्दा पनि नागरिकका दैनानुदिन देखिने समस्याको समाधानमा ध्यान दिनुपर्छ। डेलिभरी नै अहिलेको मुख्य चुनौती हो।”

पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक बिमल खड्काले भने, “राजनीतिमा लाग्ने मान्छेले आफ्नो र समाजको धरातल कहिल्यै बिर्सेन भने परिवर्तनको यात्रा त्यहीँबाट सुरु हुन्छ। लामो समयदेखि समाजका समस्या उठान गर्ने व्यक्तित्व भएकाले अब त्यसको समाधानका लागि नीतिगत परिवर्तन गर्नुपर्छ। संसदमा गएर भीडमा मिसिनु मात्रै होइन, जुन एजेन्डाका आधारमा मत प्राप्त भएको हो, त्यसैको कार्यान्वयनमा जोड दिनुपर्छ।”

उपप्राध्यापक भवदत्त सापकोटाले भने, “सामाजिक कार्य गर्दै शिक्षण पेशाबाट उदाएको व्यक्तित्वले निर्मम राजनीतिलाई चिर्न सक्नुपर्छ। अब थिङ्क ट्याङ्क होइन, ‘डु ट्याङ्क’ बन्नुपर्छ। अपडेट मात्र होइन, अपग्रेड भएर देशको आन्तरिक र बाह्य राजनीतिलाई सन्तुलनमा राख्नुपर्छ। समाजका तह–तह बुझेको जनप्रतिनिधिले रूपान्तरणमा भूमिका खेल्न सक्छ।”

उपप्राध्यापक मदनराज विष्टले भने, “राजनीति गर्ने मान्छे महत्वाकांक्षी हुनुपर्छ। काम गर्न र आफ्नो क्षमता देखाउन पद आवश्यक हुन्छ, त्यसैले जिम्मेवारी लिन डराउन हुँदैन। शैक्षिक क्षेत्रमा लामो अनुभव भएकाले त्यसका समस्याको समाधानमा पनि पहल गर्नुपर्छ।”

उपप्राध्यापक डा. विष्णु दाहालले भने, “शैक्षिक क्षेत्रमा देखिएका साना–साना बेथिति पनि समाधान गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ। विश्वविद्यालयका अनुसन्धान केन्द्रलाई सक्रिय बनाउँदै राज्यका निकायसँग समन्वय गरेर समस्या समाधान खोज्नुपर्छ। साथै, कैद भोगिरहेका व्यक्तिहरूलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने विषयमा पनि सोच्न सकिन्छ।”

मनाेविद् पदमराज जोशीले भने, “घरेलु र बाह्य समस्या पहिचान गरेर अघि बढ्नुपर्छ। समन्वयकारी भूमिका खेल्दै सरकारलाई स्थायित्वतर्फ लैजान आवश्यक छ। नयाँ भनेर आएको रास्वपाले सुशासन र विकासमा पुरानै शैली दोहोर्‍याउने छुट छैन, त्यसैले सचेत रहनुपर्छ।”

उपप्राध्यापक प्रज्वल प्रधानले भने, “पुकार बम एकैपटक सांसद बनेका होइनन्, दुई दशकदेखि सामाजिक र राजनीतिक मुद्दामा निरन्तर आवाज उठाउँदै आएका व्यक्ति हुन्। त्यही बलियो जगका कारण आजको सफलता सम्भव भएको हो। अब राजनीतिको अग्निपरीक्षामा हुनुहुन्छ, त्यसैले जिम्मेवारी जोश र होसका साथ बहन गर्नुपर्छ।”

अधिवक्ता तथा शिक्षिका रोमी घिमिरेले भनिन्, “जनआन्दोलनमा योगदान दिनेहरूलाई सधैं सम्झेर जनमतको कदर गर्दै निष्कलंक राजनीति गर्नुपर्छ। अहिलेको नेतृत्वको व्यवहारले भविष्यका युवाहरू राजनीतिमा आकर्षित हुने वा नहुने निर्धारण गर्छ, त्यसैले गलत गर्ने छुट छैन। निरन्तरता, धैर्यता र शालीनतालाई राजनीतिमा पनि कायम राख्नुपर्छ।”

अधिवक्ता कृष्ण पुडासैनीले भने, “शुभभावनासहित काम गर्नुपर्छ। रास्वपाभित्रका सांसदहरूमध्ये पुकार बम अब्बल, क्षमतावान र लगनशील व्यक्तित्व हुनुहुन्छ, त्यसैले पार्टीले पनि अनुभव र क्षमताअनुसार जिम्मेवारी दिनुपर्छ।”

मौसम शाक्यले भने, “नेपाली समाजका समस्या र चुनौती धेरै छन्, त्यसैले अपेक्षा पनि धेरै छन्। नागरिकले छिटो परिणाम चाहन्छन्, त्यसैले काम गरेर देखाउनुपर्छ। नेतृत्व भ्रष्टाचारमुक्त भए परिवर्तन त्यहीँबाट सुरु हुन्छ।”

नेशनल कलेजका उपप्रमुख छत्रबहादुर काकीले भने, “भुइँमान्छेका समस्या टिपेर राज्यलाई खबरदारी गर्ने व्यक्तिले अब नीति निर्माणमा पनि सक्रिय हुनुपर्छ। अन्तरमनको आवाजलाई बुलन्द राख्दै असल राजनीतिज्ञ र असल मान्छेको पहिचान फराकिलो बनाउनुपर्छ।”

के एण्ड के कलेजका निर्देशक सिन्धु ढकालले भने, “पुकार बम अभियन्ता, कुशल व्यवस्थापक, शिक्षक र राजनीतिज्ञ सबै पक्षमा सक्षम व्यक्तित्व हुनुहुन्छ। उहाँलाई मन्त्रिपरिषद्मा समावेश गरेर राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ।”

कलेजका सुभेक्षा गड्तौला, प्रणव रेग्मी, रोमन प्रजापति लगायत शिक्षक तथा कर्मचारीहरूले भने, “शैक्षिक र सामाजिक क्षेत्रका वास्तविक समस्या तथा विकृतिविरुद्धका मुद्दा विगतमा माइतीघर मण्डलादेखि विभिन्न स्थानबाट उठाउँदै आएको अवस्था छ। अब ती मुद्दालाई संसदमार्फत नीतिगत र प्रशासनिक रूपमा समाधान गर्न पहल गर्नुपर्छ।”

कार्यक्रमको अन्त्यमा सांसद बमले कलेजप्रति आभार व्यक्त गर्दै भने, “यो कलेज मेरो दोस्रो घर हो। यहाँबाट सिकेका मूल्य र अनुभवले नै मलाई यहाँसम्म ल्याएको हो। अब प्राप्त सुझाव, माया र विश्वासलाई साथ लिएर जनताको अपेक्षा पूरा गर्न नीतिगत तहबाट सक्रिय रूपमा काम गर्नेछु।”

के एण्ड के कलेज आजको बदलिँदो समयसँगै केवल शिक्षण संस्था मात्र नभई बौद्धिक बहस, नीति–चिन्तन र नेतृत्व विकासको गतिशील केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यहाँ अध्ययन–अध्यापनसँगै अनुभवी प्राध्यापक, अनुसन्धानमुखी वातावरण र समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा हुने गहन छलफलले विद्यार्थीलाई व्यवहारिक, जिम्मेवार र सक्षम नागरिक बन्न प्रेरित गर्छ। विशेषगरी सोसल वर्क एण्ड डेभलप्मेन्ट विषयको अध्ययनले समाजका विविध तह–तह, समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्न सहयोग पुर्‍याउँदै विद्यार्थीलाई परिवर्तनका संवाहकका रूपमा तयार पार्छ। फिल्डवर्कमा आधारित सिकाइ र व्यावहारिक अनुभवले उनीहरूलाई वास्तविक समाजसँग जोड्दै नीतिगत सोच र समाधानमुखी दृष्टिकोण विकास गर्न सक्षम बनाउँछ।

हालै सम्पन्न कार्यक्रममा सांसद पुकार बम लाई दिइएका सुझावहरूले समेत कलेजको शैक्षिक उचाइ, विद्वत् वर्गको सक्रियता र समाज रूपान्तरणप्रतिको प्रतिबद्धता उजागर गरेको छ। ज्ञान, सोच र नेतृत्वलाई एकै ठाउँमा विकास गर्ने थलोका रूपमा के एण्ड के कलेज आजको पुस्ताका लागि विश्वासिलो शैक्षिक गन्तव्य बन्न सफल भएको छ।

भिडियाे

गाउँ सहर संवाददाता

तपाईँको मत