गाउँ सहर

लेखनाथमा विद्यालय उमेरका बालबालिका केन्द्रित बृहत् अन्तर्क्रिया

लेखनाथ ।  लेखनाथमा शनिवार विद्यालय उमेरका बालबालिका केन्द्रित बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।  “विद्यालय उमेरका बालबालिकाका प्रवृत्ति, सिर्जित चुनौती एवम् अभिभावक तथा समाजको भूमिका”विषयमा पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविको सभाहलमा बृहत् अन्तर्क्रिया सम्पन्न भएको हो ।

लेखनाथ सामुदायिक सेवा केन्द्रकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निर्देशक माधव शरण उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए भने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकी अधिकृत मीना भण्डारी र लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले टिप्पणी गरेका थिए ।

डायमण्ड माविका प्राचार्य यम बहादुर रोकाले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अभिभावक, समाज, विद्यालय र प्रहरी समन्वय गरेर अगाडि बढेमात्रै विद्यालय उमेरका बालबालिकाका प्रवृत्तिबाट सिर्जित चुनौतीको समाधान गर्न सकिनेमा जोड दिए । हाम्रो ऊर्जा नकारात्मकतामा भन्दा सिर्जनशीलताको विकासमा लगाउन उनले आग्रह गरे । समाज अपराध शुन्य त हुदैन भन्दै यसलाई कम गर्न सामूहिक प्रयास आवश्यक रहने उनले बताए ।

पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले किशोरावस्थामा वातावरण, उत्प्रेरणा र सङ्गतको प्रभाव गहिरो हुने हुदा कुसङ्गत, मोबाइल र इन्टरनेटको दुरुपयोग एवं अनियन्त्रण, अभिभावकको समय, साथ, माया र निगरानीमा कमी, अधिक मोहले समस्या निम्तिएकाे बताए  । उनले बालबालिकाबाट सिर्जित हुने समस्याका पछाडि धेरैजसो मनोवैज्ञानिक कारण रहने भएकाले मनोवैज्ञानिक परामर्शमा जोड दिएका थिए ।  

कास्कीका वरिष्ठ प्रहरी नायब निरिक्षक भोजबहादुर रोकाले कास्की प्रहरीमा रहेका बालबालिका सम्बन्धी कसुरका तथ्याङ्क प्रस्तुत गर्दै उमेरगत व्यवहारका संकेत बुझ्न र उचित ढंगले सुधारका प्रयास गर्न आग्रह गरे ।

कार्यक्रम संयोजक हरिप्रसाद लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यपत्रको छलफलमा विकृतिबाट बचाएर बालबालिकालाई सकारात्मक वाटातर्फ प्रेरित गर्न तिनीहरुको ऊर्जा, क्षमता र सामर्थ्यगत विशेषतालाई सही ढङ्गले प्रयोगमा ल्याउन र अभिभावक र शिक्षकमा सन्तुष्टि आउने गरी तिनको भविष्य सुनिश्चित र सफल पार्न अनि सिङ्गो समाजलाई समृद्ध बनाउन अभिभावक, विद्यालय, शिक्षक, समाज र राज्य संयन्त्रको समन्वयात्मक प्रयास र दायित्व बहन गर्ने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । कार्यक्रममा साविक लेखनाथका विद्यालय, अभिभावक,वडाध्यक्षहरु, संघसंस्था,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यपत्रको छलफलमा १० जना सहभागीहरुले आफ्ना धारणा राखेका थिए।

विद्यालय उमेरका बालबालिकाका नकारात्मक प्रवृत्ति, मनोवैज्ञानिक कारण र सामान्य उपचारका चर्चा गर्दै वक्ताहरुले किशोर–किशोरीलाई सही दिशातर्फ उन्मुख गराउनसाथी बनेर तिनलाई राम्रोसँग सुन्ने, बुझ्ने र सल्लाह दिने, जिम्मेवारी दिएर पूरा गर्न साथ दिने र उल्झनमा पर्दा सहयोग गर्ने,काबुमा राख्नुभन्दा अप्रत्यक्ष निगरानी राख्ने, काममा, छलफलमा सहभागी बनाउने; समाजलाई चिन्ने–चिनाउने ढङ्गका तालिम दिने, अवसर दिने आदि सुझाव राखेका थिए ।

छलफलका निष्कर्षलाई समेटेर “घोषणापत्र” तयार पारी प्रकाशन गर्ने र समुदायसम्म पुग्ने गरी गरी कार्यपत्र प्रस्तुतकर्ता  माधव शरण उपाध्यायको संयोजकत्वमा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा वडा अध्यक्ष÷प्रतिनिधि,प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सामुदायिक प्रहरी सेवा कानुनी प्रतिनिधि, शिक्षा प्रशासक, सामान्य प्रशासन/सुरक्षा निकायका प्रतिनिधि, बाल सरोकार संस्थाका प्रतिनिधि र कानुनविद् समेत रहने गरी समिति गठन गरिने भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत