प्रतिनिधि सभा

बुधबार बस्ने प्रतिनिधिसभाकाे बैठकमा उपस्थित हुन कांग्रेस-एमालेको ह्वीप

काठमाडौं । भाेली अर्थात बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा 'अध्यादेश स्वीकार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गरिने उल्लेख छ । त्यसैलाई मध्यनजर गरी एमाले र कांग्रेसले सांसदहरूलाई ह्वीप लगाएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले पाँच अध्यादेशलाई स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

सत्तारुढ दलभित्रै विवादमा रहेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाहेक पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुन गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले बैठक सुरु हुनु अगाडि संशोधन गर्न पनि सक्नेछन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने भएपछि सत्तारुढ एमाले र कांग्रेसले सांसदहरूलाई अनिवार्य उपस्थित हुन भन्दै ह्वीप जारी गरेका छन् । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने भएकाले एमाले र कांग्रेसले सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत