जन्मदर्ता प्रोत्साहन गर्न बच्चाको खातामा पाँच हजार
- २० फाल्गुण मंगलबार, २०८१ | ०८:३८:०० मा प्रकाशित

स्याङ्जा । जन्मदर्ता प्रोत्साहन गर्न भिरकोट नगरपालिका–८ ले बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिने अभियान थालेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो ।
बच्चा जन्मेपछि ८ नं वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरूका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले पाँच हजार गरी कुल १० हजार खातामा जम्मा गरिदिने वडा अध्यक्ष नन्दलाल खनालले बताए ।
शिशुको खातामा जम्मा भएको रकम बच्चाको उमेर १८ वर्ष पूरा भएपछि मात्र अभिभावकले परिवारले निकाल्न पाउने व्यवस्था गरिएको उनको भनाई छ ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म वडा कार्यालयमा ३१ जना बालबालिकाको जन्मदर्ता भएको छ । खाता खोल्ने अभियान सँगसँगै वडा कार्यालयले भालेसहित सुत्केरी भेटघाट, न्यानो भोटो वितरणजस्तालाई निरन्तरता दिएको छ ।
‘सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्य तथा पोषणमा ध्यान दिँदै वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरू घर–घरमा पुग्छौँ,’ उनले भने, ‘स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौँ ।’
प्रतिकृया दिनुहोस