खेल

साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपाल-भुटान बराबरीमा, दुबैले १-१ अंक जाेडे

काठमाडौँ । नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपाल-भुटानसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

नेपालले पहिलो हाफमा १३ औं, २० औं, २४ औं, २६ औं र ४० औं मिनेटमा गोलका अवसर सिर्जना गरेपनि भुटानी रक्षा पंक्तीलाई कटाएर बललाई जाली चुमाउन सकेन । दोस्रो हाफको सुरुमै नेपालले रेनुका नगरकोटे र सरु लिम्बुको स्थानमा रेखा पौंडेल र दीपा शाहीलाई मैदान पठाएको थियो । त्यसपछि नेपालले थप दबाब बनाएको थियो ।

दोस्रो हाफमा नेपालले ५२ औं, ८३ औं  र ९० औं मिनेटमा पनि उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर कुनै पनि अवसर गोलमा परिणत नभएपछि नेपालले इतिहासमै पहिलोपटक साफ च्याम्पियन्सिपमा भुटानसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि समूह ए मा दुवै टोलीले समान १/१ अंक जोडेका छन् । नेपालले अब सोमबार आफ्नो दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत