खेल

नेपालले माल्दिभ्सलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लियाे

काठमाडाैँ। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ। दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो।

नेपालको जितमा रेखा पौडेलले ५ गोल गर्दा प्रिती राईले ह्याट्रिक पूरा गरिन्। सविता राना मगर, अमिशा कार्की, र अनिता केसीले १-१ गोल थपेका थिए।

जितपछि नेपालले २ खेलमा ४ अंक जोडेको छ। भुटानसँग पनि ४ अंक भए पनि नेपाल गोल अन्तरका आधारमा शीर्षस्थानमा छ। श्रीलंकाको ३ अंक छ भने माल्दिभ्सले अझै खाता खोलेको छैन। नेपालले समूहको अन्तिम खेलमा बराबरी मात्र गरे पनि सेमिफाइनलमा प्रवेश गर्नेछ। समूह विजेता बन्न भने भुटानको नतिजा पर्खिनुपर्नेछ।

खेलको सातौं मिनेटमा प्रिती राईको गोलबाट नेपालले अग्रता लिएको थियो। सविता राना मगरको छोटो कर्नरमा प्रितीले गरेको प्रहार माल्दिभ्सका दुई डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोलमा परिणत भएको थियो। 

सविताले २९ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन्। ३२ औं मिनेटमा रेखा पौडेलले रश्मी कुमारी घिसिङको पासलाई छातीले गोलमा परिणत गर्दै नेपालको तेस्रो गोल गरिन्।

रेखाले दोस्रो हाफको सुरुमै ह्याट्रिक पूरा गरिन्, र पछि थप दुई गोल गरेर व्यक्तिगत पाँच गोलको शानदार प्रदर्शन गरिन्। अनिता केसीले मैदानमा छिरेको पहिलो टचमै गोल गरिन् भने प्रिती राईले पेनाल्टीबाट अर्को गोल थपिन्। खेलको अन्तिम क्षणमा अमिषा कार्कीले पनि गोल गर्दै नेपालको ११-० को जीत सुनिश्चित गरिन्।

अब नेपालले अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। उता भुटानले माल्दिभ्ससँग खेल्ने छ।

गाउँ सहर संवाददाता

तपाईँको मत