सडक/यातायात

डडेल्धुरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको  शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जनाए ।

उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् ।

बस सडकबाट झण्डै तीन सय मिटर खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत